लिभरपुललाई ठूलो झट्का : भान डाइकले सिंगै सिजन गुमाउन सक्ने !

काठमाडौं, कात्तिक २
इंग्लिस क्लब लिभरपुललाई नयाँ सिजन सुरुआतमै ठूलो झट्का लागेको छ । टोलीका एक प्रमुख खेलाडी डिफेन्डर भर्जिल भान डाइकले गम्भीर चोट बोकेका छन् । हालसम्म क्लब लिभरपुलले उनको चोटको अवस्थाबारे बिस्तृत र अफिसियल जानकारी दिएको छैन । तर, इंग्लिस मिडियाले डच खेलाडीले गम्भीर चोटका कारण बाँकी सिजन गुमाउन सक्ने खबर दिएका छन् ।

प्रिमियर लिगमा गत राति एभर्टनविरुद्ध अवे मैदानमा खेल्नेक्रममा भान डाइकले चोट बोकेका हुन् । खेल सुरु भएको ११औं मिनेटमै उनले चोट बोकेर मैदान छाडेका थिए । एभर्टनको पोस्टतर्फ बल लिएर अघि बढेका बेला उनी इंग्लिस गोलकिपरको खराब ट्याकलमा परेका थिए । उनी निकै डरलाग्दो गरी मैदानमा पछारिएका थिए ।

पछि मेडिकल टिम मैदानमै छिरेर भान डाइकको प्रारम्भिक उपचार गरेपछि उनलाई मैदानबाट निकालिएको थियो । उनको स्थानमा जोए गोमेजलाई मैदान छिराइएको थियो । खेलपछि मिडियासँग कुरा गर्दै प्रशिक्षक जोर्गेन क्लोपले भान डाइकको चोट गभीर हुनसक्ने बताउँदै सबै कुरा मेडिकल जाँचपछि मात्रै स्पष्ट हुने बताएका थिए ।

भान डाइक ‘एसिएल इन्जुरी’ बाट पीडित बनेपछि उनी चाँडै मैदान फर्किने सम्भावना न्यून छ । यस्तो चोटमा अक्सर अप्रेसन नै गर्नुपर्ने हुन्छ । यसमा घुँडाको अप्रेसन गरिन्छ । यस्तो अप्रेसनपछि खेलाडीलाई आफ्नो काममा फर्किन ७ देखि ८ महिनासम्म लाग्न सक्छ । यसको अर्थ यदि भान डाइकको चोट सामान्य नभएर शल्यक्रिया नै गर्नुपर्ने भए उनले यो सिजनका सबै खेल गुमाउनेछन् ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार १६:५९
Loading...