आज टोटनह्याम र वेस्ट ह्याम भिड्दै : बेलले डेब्यु गर्ने सम्भावना कति ?

काठमाडौं, कात्तिक २
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले आज आफ्नो नयाँ सिजनको पाँचौं खेल खेल्दै छ । यस खेलका लागि उसले पाहुना टोली वेस्ट ह्यामलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल टोटनह्यामको घरेलु रंगशाला वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि चार खेल खेलिसकेको टोटनह्यामले सामान्य सुरुआत गरेको छ । उसले दुई खेल जितेर एक खेल बराबरी गर्दा एक खेल हारेको छ । अन्तर्राष्ट्रिय ब्रेकपछि टोटनह्यामले पहिलो लिग खेल घरेलु मैदानमा खेल्न लागेकाले उसका लागि वेस्ट ह्यामसँगको हारजित महत्त्वपूर्ण हुनेछ ।

आज टोटनह्यामको घरमा उत्रिन लागेको वेस्ट ह्याम चार खेलपछि ६ अंक बनाएर १२औं स्थानमा छ । वेस्ट ह्यामले चारमध्ये दुई खेल जितेर दुई खेल हारेको छ । आफ्ना घरमा खेल्ने भएकाले जोसे मोउरिन्होको टिम टोटनह्यामका लागि आजको खेल विशेष हुनेछ ।

बेलले डेब्यु गर्ने सम्भावना

टोटनह्यामले हालसालै स्पेनिस रियल मड्रिडबाट लोनमा अनुबन्ध गरेका वेल्स स्टार ग्यारेथ बेलले आजको खेलबाट डेब्यु गर्ने सम्भावना छ । टोटनह्यामका लागि दोस्रोपटक खेल्न लागेका उनले सन् २०१३ मा रियल मड्रिड जान टोटनह्याम छाडेका थिए । तर, रियलमा पछिल्लो सिजन पर्याप्त खेल्न नपाएपछि उनी एकवर्षे लोनमा पुरानो घर फर्किएका हुन् ।

आज घरेलु मैदानमा हुने खेलबाट बेलले टोटनह्याममा दोस्रो इनिङ सुरु गर्ने सम्भावना छ । यसअघि चोटका कारण फिटनेसमा समस्या रहेकाले उनले टोटनह्याम पुगिकन खेल्न पाएका छैनन् । आजको खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रशिक्षक मोउरिन्होले बेल अब मैदान उत्रिन तयार रहेको बताएका छन् ।

‘उनले आफू अब ठीक रहेको कुरा मलाई बताएका छन् । उनी पछिल्लो समय लगातार समूहमा प्रशिक्षण गरिरहेका छन् । यहाँ ड्युटी थाल्न उनका लागि भोलि उचित दिन हुन सक्छ । तर, यसबारे हामीले निर्णय गरिसकेका छैनौं । उनीसँग सल्लाह गरेर म भोलि निर्णय लिनेछु,’ पत्रकार सम्मेलनमा मोउरिन्होले भने ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार १६:३४
Loading...