मेस्सीलाई पछि पार्दै ला लिगामा स्वारेजको नयाँ रेकर्ड

काठमाडौं, कात्तिक २
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका नयाँ खेलाडी लुइस स्वारेजका नाममा ला लिगामा नयाँ कीर्तिमान बनेको छ । ३३ वर्षीय उरुग्वेन फरवार्ड अब यस लिगमा सबैभन्दा चाँडो १५० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । गत राति ला लिगामा एथ्लेटिकोले सेल्टा भिगोलाई २–० ले हराउँदा स्वारेजले खेलको छैटौं मिनेटमा गोल गरेका थिए, जुन ला लिगामा उनको १५०औं गोल थियो ।

स्वारेजले पूर्वक्लब बार्सिलोनामा छँदाका सहकर्मी लिओनल मेस्सीभन्दा पनि चाँडो १५० गोल पूरा गरेका हुन् । स्वारेजले ला लिगामा १९५ खेलबाट १५० गोलको आँकडा पूरा गरेका हुन् । लिगको इतिहासमा यो सबैभन्दा राम्रो दोस्रो रेकर्ड हो ।

रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोका नाममा सबैभन्दा चाँडो १५० गोल गर्ने खेलाडीको रेकर्ड छ । रोनाल्डोेले रियलमा छँदा मात्रै १४७ खेलबाट १५० गोल गरेका थिए ।

स्वारेजले एथ्लेटिको मड्रिडका लागि ४ खेलबाट ३ गोल गरेका छन् । उनले बार्सिलोनामा ६ सिजन बिताउनेक्रममा १९१ खेलबाट १४७ गोल गरेका थिए । उनले ला लिगामा गरेका १५० गोलमध्ये ११० गोल दायाँ खुट्टाले गर्दा २६ गोल देब्रे खुट्टाले गरेका छन् । बाँकी १४ गोल हेडिङमार्फत् गरेका छन् । १५० मध्ये स्वारेजले ९ गोल पेनाल्टीमार्फत् गरेका छन् भने ८ गोल पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेका छन् ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार १४:४५
Loading...