रियल मड्रिड हारेको रात बार्सिलोना पनि हार्‍यो !

काठमाडौं, कात्तिक २
स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड हारेको रात बार्सिलोना पनि हारेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको चौथो खेलमा बार्सिलोनालाई घरेलु टोली गेटाफेले १–० ले स्तब्ध बनायो । आफ्नो घरमा पाहुना टोली बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको गेटाफेले १ मात्रै पेनाल्टी गोलको मदतमा बार्सिलोनालाई सिजनको पहिलो हार चखायो ।

फिलिपे कोउटिन्हो र अन्सु फातीलाई बेन्चमा छाडेर अवे मैदानमा उत्रिँदा बार्सिलोनाको आक्रमणपंक्ति निकै फितलो देखिएको थियो । कप्तान लिओनल मेस्सी सुरुआतबाटै खेले पनि उनले गेटाफेविरुद्ध खास प्रभाव जमाएनन् । मेस्सीले यो सिजन ला लिगामा सुरुआती ४ खेलमा पूरै समय खेल्दा मात्रै १ गोल गरेका छन्, त्यो पनि पेनाल्टीमार्फत् । १ पेनाल्टी गोलबाहेक उनका नाममा यो सिजन अझैसम्म असिस्ट दर्ता भएको छैन ।

गेटाफेविरुद्ध बार्सिलोनाले खेलभरि जम्मा ७३ प्रतिशत बल आफ्नो पकडमा राख्दा ७ पटक आक्रमण बुनेर मात्रै १ पटक अन टार्गेट प्रहार गरेको थियो । बार्सिलोनाले कूल ६१७ पास खेल्यो । ब्याक पासमा अलमलिएको बार्सिलोनाले आक्रणतर्फ कुनै प्रभाव जमाएन ।

यता, घरेलु टोली गेटाफेले खेलभरि जम्मा २७ प्रतिशत मात्रै बल पाउँदा २१७ पटक मात्रै पास खेल्यो । तर, उसले खेलभरिमा बार्सिलोनाको भन्दा बढी आक्रमणको प्रयास गर्दा ४ पटक अन टार्गेट प्रहार गरेको थियो । बार्सिलोनाविरुद्ध पटक–पटक गोलका अवसर सिर्जना गरेको गेटाफका दुई शक्तिशाली प्रहार बारमा लागेर फर्किंदा बार्सिलोना थप गोल खानबाट बचेको थियो ।

गेटाफेको घरमा बार्सिलोनाको फरवार्ड लाइन निकै फितलो देखिएको थियो । उसका मिडफिल्डर र फरवार्ड कसैले एकभन्दा बढी अन टार्गेट आक्रमण बुन्न सकेनन् । पहिलो हाफमा ०–० मा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले पेनाल्टी गोल खायो ।

बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे जोङले बक्समा विपक्षी खेलाडीमाथि फउल गरेपछि रेफ्रीले गेटाफेलाई पेनाल्टीको मौका दिएका थिए, जसमा जिमी माटाले सहजै गोल गरेपछि बार्सिलोना १–० ले पछि परेको थियो । त्यसपछि बार्सिलोनाले गोल गर्न सकेन । र, खेल गेटाफेले १–० ले खेल जित्यो ।

अब यो जितसँगै गेटाफे ५ खेलबाट १० अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । सुरुआती ५ खेलबाट रियल मड्रिड, गेटाफे, क्याडिज, ग्रनाडाले १०–१० अंक जोडेका छन् । तर, गोलअन्तरमा रियल सबैभन्दा माथि छ ।

गत राति नै रियल आफ्नै घरेलु मैदानमा यसै सिजन ला लिगामा बढुवा भएको क्याडिजसँग ०–१ ले पराजित भएको थियो । रियल हारेकै रात बार्सिलोना पनि हारेको हो । र, रियल र बार्सिलोना ला लिगामा दुई वर्षपछि एकै रात हारेका हुन् । हालको स्थितिमा बार्सिलोनाले रियलको भन्दा एक खेल कम खेलेको छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार ०२:३३
Loading...