सिरी ए : १० खेलाडीमा सीमित युभेन्टस बराबरीमा रोकियो

काठमाडौं, कात्तिक २
इटालियन सिरी ए लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन टिम युभेन्टस लिगको चौथो खेलमा बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा युभेन्टस अवे मैदानमा क्रोटोनेसँग १–१ को बराबरीमा रोकिएको हो ।

यसै सिजन सिरी ए लिगमा बढुवा भएको क्रोटोनेको घरमा युभेन्टस खेलको ६०औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । नयाँ खेलाडी फेडरिको किइजा रातो कार्ड खाएर मैदान छाडेपछि युभेन्टस दबाबमा परेको थियो । यता, दोस्रो हाफमा अल्भारो मोराटाको दोस्रो गोललाई भिएअराले रद्द गरिदिँदा युभेन्टस जितबाट वन्चित बन्न पुगेको हो ।

घरेलु टोली क्रोटोनेले १२औं मिनेटमै पेनाल्टीमार्फत् गोल गरेर खेलमा अग्रता लिएको थियो । सो गोल सिमोन नवानकोले गरेका थिए । तर, गोल खाएको ९ मिनेटमै युभेन्टस खेलमा फर्कियो । नयाँ खेलाडी किइजाको क्रस पासमा मोराटाले हलुका टचमै बललाई जाली चुमाएपछि खेल १–१ को बराबरीमा आइपुग्यो ।

तर, त्यसपछि खेलमा थप गोल भएन । खेलको ६०औं मिनेटमा नयाँ खेलाडी किइजाले सोझै रातो कार्ड पाए । युभेन्टसमा डेब्यु खेलमै उनले रातो कार्ड पाएका हुन् । विपक्षी खेलाडीमाथि खराब ट्याकल गरेपछि उनले सोझै रातो कार्ड पाएका थिए ।

युभेन्टस १० खेलाडीमा सीमित भएपछि पनि ७७औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरेका थिए । तर, उनको गोल भिएआरले रद्द गरिदिँदा युभेन्टसलाई झट्का लागेको थियो । त्यसपछि बाँकी समयमा थप गोल नभएपछि खेल १–१ मा सकियो ।

अब यो बराबरीपछि युभेन्टसले ४ खेलबाट ८ अंक जोडेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । ४ वटै खेल जितेको एसी मिलान १२ अंकसहित शीर्ष स्थानमा छ । यता, युभेन्टसलाई बराबरीमा रोकेको क्रोटोने मात्रै १ अंक बनाएर १८औं स्थानमा छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार ०२:२५
Loading...