प्रिमियर लिग : म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

काठमाडौं, कात्तिक २
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली आर्सनलमाथि १–० को जित निकाल्न सफल भयो ।

प्रतिस्पर्धात्मक खेलमा सिटीलाई महत्त्वपूर्ण जित दिलाउन १ मात्रै गोल रहिम स्टर्लिङले गरे । उनले सो गोलल पहिलो हाफको २३औं मिनेटमा गरेका थिए । रिबाउन्ड बलमा उनले सहजै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

अन्ततः उनको त्यही १ गोल टिमलाई जिताउन पर्याप्त बन्यो । सिटीको घरमा आर्सनलले पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा घरेलु टोलीलाई नतिजा सुम्पियो ।

अब यो जितपछि सिटीले लिगका ४ खेल सकिँदा ७ अंक जोडेर १०औं स्थानमा चढेको छ । उसले दुई खेल जितेर एकमा बराबरी र एक हारेको छ । यता, ५ खेल खेलेको आर्सनल ९ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार ००:३२
Loading...