मिलान डर्बीमा ज्लाटन चम्किँदा एसी मिलानले इन्टरलाई हरायो

काठमाडौं, कात्तिक २
३९ वर्षीय फरवार्ड ज्लाटन इब्राहिमोभिच चम्किँदा इटालियन सिरी ए लिगको सिजनको पहिलो मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई उसकै घरमा हराएको छ । शनिबार राति भएको खेलमा पाहुना टोली एसी मिलानले इन्टरलाई १–२ ले स्तब्ध बनायो ।

एसी मिलानलाई इन्टरको घरमा जिताउन स्वीडेनका भेट्रान फरवार्ड इब्राहिमोभिचले २ गोल गरे । उनले पहिलो हाफमा ४ मिनेटको बीचमा २ गोल गरे । इब्राहिमोभिचले खेलको १३औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको ३ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर घरमै १६ मिनेटको खेल सकिँदा ०–२ ले पछि परेको थियो ।

तर, घरेलु टोली इन्टरका लागि खेलको २९औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल १–२ मा छोट्याएका थिए । तर, सो गोलपछि खेलभरि नै दुवै टोलीबाट थप गोल भएन । र, खेल एसी मिलानले १–२ ले जित्यो ।

यो जितपछि एसी मिलान ४ खेलबाट १२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । पराजित इन्टर मिलान समान खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार २३:३८
Loading...