वार्नर चम्किए तर चेल्सी आफ्नै घरमा रोकियो

काठमाडौं, कात्तिक १
जर्मन फरवार्ड टिमो वार्नरले नयाँ क्लब चेल्सीका लागि प्रिमियर लिगमा पहिलो अफिसियल गोलको खाता खोल्दै उत्कृष्ट प्रदर्शन गरेको खेलमा चेल्सी घरेलु मैदानमा बराबरीमा रोकिएको छ । आज शनिबार भएको खेलमा चेल्सीलाई घरेलु मैदान स्टामफोर्ड ब्रीजमा पाहुना टोली साउथह्यामपटनले रोमाञ्चक अवस्थाबाट ३–३ को बराबरीमा रोक्न सफल भयो ।

घरेलु मैदानमा चेल्सीका लागि यसै समर विन्डोमा अनुबन्ध भएका वार्नरले एकै खेलमा २ गोल र १ असिस्ट गरे पनि टिमले जितको खुसी मनाउन पाएन । चेल्सीले २८औं मिनेटमा पुग्दा २–० को अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा घरमै २ अंक गुमाउन बाध्य भयो ।

चेल्सीका लागि खेलको १५औं मिनेटमा वार्नरले दर्शनीय सोलो गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई २–० को स्थितिमा पुराए । त्यसपछि खेलको ४३औं मिनेटमा साउथह्यामपटनका लागि डनी इङ्ग्सले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ मा झारे ।

दोस्रो हाफ खेल थप रोमाञ्चक बन्यो । खेलको ५७औं मिनेटमा साउथह्यापटनका लागि चे अडाम्सले गोल गरेर खेल २–२ बनाए । तर, त्यसको २ मिनेटमै चेल्सीका लागि जर्मन खेलाडी काई हार्भट्जले वार्नरकै पासमा गोल गरेर खेल चेल्सीलाई ३–२ को अग्रता दिलाए । चेल्सी सोही अग्रता लिएर जितनजिक पुगेको थियो ।

तर, इन्जुरी समयमा चेल्सी सम्हालिन नसक्दा जितको मुखैमा पुगेर चुक्यो । थपिएको समयको दोस्रो मिनेटमा जनिक भेस्टरगार्डले गोल गरेपछि खेल ३–३ को बराबरीमा टुंगियो ।

यो बराबरीपछि चेल्सीले ५ खेल सकिँदा मात्रै ८ अंक जोडेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ । साउथह्यामपटन ५ खेलपछि ७ अंक बनाएर १०औं स्थानमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार २२:०८
Loading...