एथ्लेटिको मड्रिडको जितमा स्वारेजको गोल

काठमाडौं, कात्तिक १
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सहज निकालेको छ । आज शनिबार राति भएको लिगको चौथो खेलमा एथ्लेटिको सेल्टा भिगोलाई उसैको घरेलु मैदानमा ०–२ ले निराश बनायो । एथ्लेटिकोलाई अवे मैदानमा जिताउन नयाँ खेलाडी लुइस स्वारेज र कारास्कोले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिकोले खेल सुरु भएको छैटौं मिनेटमै अग्रता लिएको थियो । घरेलु टोलीविरुद्धको दोस्रो मुभमै एथ्लेटिकोले गोल गर्न सफल भएको थियो । सान्चेजको पासमा स्वारेजले बक्सभित्रबाट घरेलु टोलीका डिफेन्डरलाई जिल्लाउँदै प्रहार गरेको लो सटले जाली चुमेपछि एथ्लेटिकोले खेलमा अग्रता बनायो ।

त्यसपछि एथ्लेटिकोलाई दोस्रो गोल गर्न खेलको ९० मिनेटपछिको इन्जुरी समयसम्म कुर्नुपरेको थियो । थपिएको समयको पाँचौं मिनेटमा जुआओ फेलिक्सको कडा सट बारमा लागेर रिबाउन्ड भएको भएको बलमा कारास्कोले हेडिङमार्फत् सहजै गोल गरेपछि खेल एथ्लेटिकोले ०–२ ले जित्यो । यस खेलमा १ गोल गरेसँगै उरुग्वेन फरवार्ड स्वारेजले नयाँ क्लबका लागि ४ खेलबाट ३ गोल १ असिस्ट गरिसकेका छन् ।

यो जितपछि एथ्लेटिकोले ४ खेलबाट ८ अंक जोडेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा चढेको छ । पराजित सेल्टा ६ खेलपछि ५ अंक बनाएर १३औं स्थानमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार २१:४६
Loading...