सिरी ए : नापोलीद्वारा एटलान्टाको नमिठो धुलाइ !

काठमाडौं, कात्तिक १
इटालियन सिरी ए लिग फुटबलमा नापोलीले अर्को उपाधि दाबेदार टिम एटलान्टाको नमिठो गरी धुलाइ गरेको छ । आज भएको लिगको चौथो खेलमा नापोलीले आफ्नो घरेलु मैदानमा पाहुना टोली एटलान्टामाथि ४–१ को शानदार जित निकाल्यो ।

आफ्नो घरेलु मैदानमा नापोलीलाई जिताउन युवा फरवार्ड हार्भिङ लोजानोले २ गोल गरे । नापोलीले गरेका ४ वटै गोल पहिलो हाफमा गरेको हो । त्यसमा पनि उसले सुरुआती ३ गोल ७ मिनेटको बीचमा गरेको थियो ।

नापोलीका लागि खेलको २३औं मिनेटमा पहिलो गोल लोजानोले गरेका थिए । पहिलो गोल गरेको ४ मिनेटमै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि नापोली २–० ले अघि भयो । नापोलीले गालको वर्षा जारी नै राख्यो । खेलको ३०औं मिनेटमा माटेओ पोलिटानोले गोल गरे । नापोलीले ७ मिनेटको बीचमा ३ गोल गरेपछि पाहुना टोली एटलान्टा झन् चर्को दबाबमा परेको थियो ।

घरेलु मैदानमा उत्कृष्ट लयमा देखिएको नापोली त्यत्तिमै अडिएन । पहिलो हाफको निर्धारित समय सकिन २ मिनेट बाँकी छँदा भिक्टोर ओसिमहेनले गोल गरेपछि नापोलीले पहिलो हाफमै ४–० को फराकिलो अग्रता बनायो ।

दोस्रो हाफमा पाहुना टोली एटलान्टाका लागि साम लामर्सले ६९औं मिनेटमा गोल गर्दै खेल ४–१ मा छोट्याए । तर, त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल भएन । र, खेल नापोलीले ४–१ ले जित्यो ।

अब यो जितपछि नापोलीले ४ खेलबाट ८ अंक जोडेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा चढेको छ । पराजित एटलान्टा समान ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार २०:४०
Loading...