लिभरपुलविरुद्ध एभर्टनको उत्कृष्ट कमब्याक : पहिलो हारबाट बच्यो

काठमाडौं, कात्तिक १
इन्जुरी समयमा खाएको गोल भिएआरले रद्द गरिदिँदा एभर्टन इंग्लिस प्रिमियर लिग फुटबलमा सिजनको पहिलो हारबाट बचेको छ । आज भएको डर्बी भिडन्तमा एभर्टनले साबिक विजेता लिभरपुलसँग २–२ को रोमाञ्चक बराबरी खेलेको हो । आफ्नो घरेलु मैदान एभर्टनले लिभरपुलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भयो ।

आफ्नो घरेलु मैदान गुडिसन पार्कमा एभर्टनले दुई–दुईपटक पछि परेको स्थिति उल्टाएर लिभरपुलविरुद्ध उत्कृष्ट पुनरागमन गरेको थियो । लिभरपुलका लागि खेल सुरु भएको तेस्रो मिनेटमै साडियो मानेले उत्कृष्ट मुभमा सहजै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको १९औं मिनेटमा मिकाहिल किनले हेडिङमार्फत् सुन्दर गोल गर्दै टिमलाई खेलमा फर्काए । उनले हामेस रोड्रिग्वेजको कर्नर किकमा गोल गरेका थिए ।

त्यसपछि लिभरपुलले ७२औं मिनेटमा पुनः खेलमा अग्रता लियो । यसपटक एभर्टनका डिफेन्डर येरी मिनाले बक्सबाट क्लियर गर्न खोज्दा बल नियन्त्रणमा लिएर मोहमद सालाहले सजिलै गोल गरेर घरेलु टोलीविरुद्ध १–२ को अग्रता दिलाए । तर, खेलको ८१औं मिनेटमा एभर्टन पुनः खेलमा फर्कियो ।

यसपटक यस सिजनको सुरुआतबाटै चम्किरहेका इंग्लिस फरवार्ड डोनिमिक काल्भर्ट लेविनले हेडिङमार्फत् दर्शनीय गोल गर्दै खेल २–२ बनाए । उनले लुकास डिग्नेको पासमा गोल गरेका थिए । त्यसपछि थप सयमको तेस्रो मिनेटमा लिभरपुलका लागि कप्तान जोर्डन हेन्डर्सनले गोल गरेर टिमलाई जितको बाटो देखाएका थिए । तर, हेन्डसर्नको गोललाई भिएआरले रद्द गरिदिँदा लिभरपुल जितको मुखैमा पुगेर निराश बन्यो भने एभर्टनले सिजनको पहिलो हार पन्छाउन भाग्यले भिएआरले साथ दियो ।

अब यो बराबरीपछि एभर्टन ५ खेलबाट १३ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक बनाएको लिभरपुल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १९:२४
Loading...