१० खेलाडीमा सीमित सेभिल्लाको पहिलो हार

काठमाडौं, कात्तिक १
स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले सिजनको पहिलो हार व्यहोरेको छ । आज भएको लिगको चौथो खेलमा ग्रानाडाले आफ्नो घरेलु मैदानमा पाहुना टोली सेभिल्लालाई १–० ले स्तब्ध बनायो । दोस्रो हाफमा १० खेलाडीमा सीमित भएर खेलेको सेभिल्लालाई घरेलु टोली ग्रानाडाले खेलको अन्तिम समयमा गोल गर्दै हरायो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, सेभिल्लाका खेलाडी जोन जोर्डन पहिलो हाफको थप समयमा दोहोरो पहेंलोका साथ रातो कार्ड पाएपछि पाहुना टोली सेभिल्लालाई ठूलो झट्का लागेको थियो ।

दोस्रो हाफमा घरेलु टोलीले १० खेलाडीमा सीमित भएको सेभिल्लाविरुद्ध फाइदा उठायो । खेलको ८२औं मिनेटमा ग्रानाडाका लागि एगेंल हरेराले गोल गरेपछि सेभिल्ला १–० ले पछि परेको थियो । त्यसपछि पाहुना टोली खेलमा फर्किन सकेन । र, खेल ग्रानाडाले जित्यो ।

आजको हारसँगै सेभिल्लाले लिगमा नयाँ सिजन पहिलो हार भोगेको छ । यसअघि उसले ३ खेलमा हार व्यहोरेको थिएन । सेभिल्लालाई हराएसँगै ग्रानाडा ५ खेलपछि १० अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । पराजित सेभिल्ला ७ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १९:०७
Loading...