हिम्मत हारेको छैन, अर्को विश्वकपका लागि तयार छु : मेस्सी

एजेन्सी, कात्तिक १
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले आफू अर्को विश्वकप खेल्न तयार रहेको बताएका छन् । हाल ३३ वर्ष पुगेका मेस्सीले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल खेल्ने–नखेल्नेमा आशंका रहिरहेका बेला उनले अर्जेन्टिनी मिडिया ‘टिवाईसी स्पोर्टस’सँग कुरा गर्दै आफू आगामी विश्वकपको मञ्चमा खेलाडीकै रूपमा हुने बताए ।

कतार विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनौट खेलक्रममा सुरुआती दुई खेल खेल्न राष्ट्रिय टोलीमा पुगेका मेस्सीले इक्वेडर र बोलिभिया दुवै टोलीविरुद्ध खेलेका थिए । यी दुई खेलबाट उनले पेनाल्टीमार्फत् १ गोल गरेर टिमलाई जिताउन मदत गरे । स्पेन फर्किनेक्रममा उनले मिडियासँगका कुरा गर्दै आफूले अझै हिम्मत नहारेको बताए ।

‘मेरो अन्तर्राष्ट्रिय करिअरको विषयमा धेरैले कुरा गरिरहेका हुन्छन् । म के गर्न गइरहेको छु, त्यो मलाई मात्रै थाहा छ,’ मेस्सीले भनेका छन्, ‘मैले हिम्मत हारिसकेको छैन । म अर्को विश्वकप खेल्न तयार छु ।’

मेस्सीले अर्जेन्टिनी जर्सीमा २०२२ को विश्वकप आफ्ना लागि अन्तिम हुन सक्ने बताए । ‘समय कसरी अघि बढ्छ र बित्छ त्यो हेर्नुपर्छ । तर, अहिले म सोचिरहेको छु कि, अबको विश्वकपमा म अन्तिमपटक राष्ट्रिय जर्सी लगाउनेछु । किनभने, अब समय धेरै छैन,’ मेस्सीले भने ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १४:४२
Loading...