प्रिमियर लिग : आज एभर्टन र लिभरपुलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, कात्तिक १
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । तीमध्येको एक खेल हो– एभर्टन र लिभरपुलको भिडन्त । नयाँ सिजनमा उत्कृष्ट लयमा रहेर शतप्रतिशत विजयी यात्रामा रहेको एभर्टन आज लिगको पाँचौं चरणको खेल खेल्न डिफेन्डिङ च्याम्पियन लिभरपुललाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाल समयअनुसार साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।

कार्लेस एन्सेलोट्टीको कमान्डमा यो सिजनको सुरुआतबाटै शानदार प्रदर्शन गरिरहेको एभर्टन आज विजयी यात्रालाई कायमै राख्ने लक्ष्यका साथ घरेलु रंगशाला गुडिसन पार्कमा उत्रिनेछ । एभर्टनले यो सिजन घरेलु लिगमा खेलेका ४ वटै खेल जितेर १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता, गत सिजनको लिग च्याम्पियन लिभरपुलले समान ४ खेल खेल्दा ३ खेल जितेको छ भने १ खेल हारेर ९ अंकसहित पाँचौं स्थानमा छ । लिगको सबैभन्दा मजबुत टिम लिभरपुल र यो सिजन सबैभन्दा राम्रो लयमा रहेको एभर्टन आपसमा भिड्दा यो खेल हेर्नलायक हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा एभर्टन आज पाहुना टोली लिभरपुलमाथि स्पष्ट जितेको खोजीमा हुनेछ । लिगको शीर्ष स्थान कायमै राख्न र उत्कृष्ट लयलाई नगुमाउन पनि लिभरपुलविरुद्ध उत्रिँदा एभर्टन खरो उत्रिनेछ पक्का छ । यता, लिभरपुल आजको खेलबाट ३ अंक जोड्दै लिग लिडर एभर्टनसँगको अंक बराबरी गर्ने दाउमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०९:००
Loading...