एमबाप्पे चम्किँदा पिएसजीको शानदार जित

काठमाडौं, कात्तिक १
युवा स्टार केलियन एमबाप्पे चम्किँदा फ्रेन्च लिग वान फुटबलमा पिएसजीले शानदार जित दर्ता गरेको छ । गत राति भएको खेलमा एमबाप्पेले २ गोल गरेपछि पिएसजीले १० खेलाडीमा सीमित निमेजमाथि ०–४ को एकपक्षीय जित निकाल्यो । निमेजलाई उसकै घरमा हराउन एमबाप्पेले २ गोल गर्दा एलेसान्ड्रो फ्लोरेन्जी र पाब्लो सराबियाले १–१ गोल गरे ।

घरेलु टोली निमेज खेलको १२औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । लुक नान्ड्रेले राफिन्हामाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । त्यसको फाइदा पिएसजीले लिन सफल भयो ।

पिएसजीका लागि खेलको ३२औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरेका थिए । त्यसपछि पिएसजीलाई अर्को गोल थप्न खेलको ७७औं मिनेटसम्म कुर्नुपरेको थियो । सो गोल फ्लोरेन्जीले गरेका थिए । त्यसपछि ८३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे भने ८८औं मिनेटमा सराबियाले गोल गरेपछि खेल पिएसजीले ०–४ ले जित्यो ।

अब यो जितसँगै पिएसजी ७ खेलबाट १५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । समान खेलबाट १५ नै अंक भएको रेनेज दोस्रो स्थानमा छ भने १४ अंक भएको लिले तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०७:३४
Loading...