रोनाल्डोको ओभरहेड किक गोलबारे बुफोनको रोचक टिप्पणी

एजेन्सी, असोज ३०
इटालियन क्लब युभेन्टसका भेट्रान गोलकिपर जियानलुइजी बुफोनले सन् २०१८ मा च्याम्पियन्स लिगमा आफूविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको चर्चित ओभरहेड किक गोलको विषयमा रोचक टिप्पणी गरेका छन् । सिजन २०१७–१८ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेल खेल्न रोनाल्डोको तात्कालीन टिम रियल मड्रिड युभेन्टसको घरमा उत्रिँदा रोनाल्डोले बुफोनको टिम युभेन्टसविरुद्ध २ गोल गरेका थिए ।

त्यसबेला बुफोन युभेन्टसकै किपर थिए पनि रोनाल्डो रियलमा थिए । उनीहरू अहिले युभेन्टसमा सहकर्मी छन् । युभेन्टसको घरमा भएको पहिलो लेगको खेल रियलले ०–३ ले जित्दा रोनाल्डोले १ गोल ओभरहेड किकमा शानदार गोल गरेका थिए, जुन गोललाई च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा उत्कृष्ट र चर्चित गोल मानिन्छ ।

हालै एक अन्तर्वार्तामा कुरा गर्दै बुफोनले २०१८ मा रोनाल्डोको ओभरहेड किक गोल खाएपछि आफूले उनीसँग खेलपछि उनको उमेर र गोलपछि रोनाल्डो ठीकै छन् कि छैनन् भनेर सोधेको बताएका छन् । रोनाल्डोको गोल खाएको विषयमा बुफोनले भनेका छन्–

‘रियल मड्रिडका लागि क्रिस्टियानोले मविरुद्ध त्यो ओभरहेड किक गोल गरेपछि मैले उनलाई तिमी कति वर्षको भयौ भनेर सोधेको थिएँ । अनि, मैले के तिमी अहिले ठीक छौ भनेर पनि सोधेको थिएँ । मेरो प्रश्न सुनेर उनी सुरुमा मुस्कुराए र भने– म ३३ वर्षको भएँ । त्यत्ति खराब होइन, हैन त ?’

बुफोनले रोनाल्डोको सो गोल आफूले करिअरमा खाएमध्येका सबैभन्दा सुन्दर गोल रहेको पनि बताए । ‘गोलकिपरपले सामना गरेका गोल सुन्दर हुन्छन् कि हुँदैनन्, मलाई थाहा छैन । तर, म त यो मान्छु । म खुसीसाथ भन्छु– क्रिस्टियानाको त्यो गोल मैले मेरो करिअरमा खाएमध्ये सबैभन्दा सुन्दर गोल थियो ।’

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार २१:५७
Loading...