बार्सिलोनालाई लिएर हामीलाई कुनै चिन्ता छैन : जिदान

एजेन्सी, असोज ३०
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले नयाँ सिजनको ला लिगा उपाधिलाई लिएर आफूलाई कुनै चिन्ता नरहेको बताएका छन् । शनिबार लिगको लिगको पाँचौं खेल आफ्नो घरमा क्याडिजसँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले ला लिगाबारे धारणा राखे ।

यो सिजन रियलले ४ खेल खेलिसकेको छ । ४ खेल सकिँदा रियलले ३ खेलमा स्पष्ट जित निकाल्दा १ खेल बराबरी गरेको छ । ऊ हाल १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रियलको खास प्रतिस्पर्धी बार्सिलोना १ खेल कम खेलेर ७ अंकसहित पाँचौं स्थानमा छ ।

आफ्नो टोलीका कतिपय खेलाडी हालै अन्तर्राष्ट्रिय फुटबलबाट फर्किएको अवस्थामा रियलल शनिबार सान्टियागो बेर्नाबेउमा यसै सिजन ला लिगामा बढुवा भएको क्याडिजको सामना गर्दैछ । जिदानले खेलाडीहरू अन्तर्राष्ट्रिय ब्रेकबाट फर्किएपछिको पहिलो खेल जहिल्यै फरक हुने बताए । ‘हाम्रा केही प्रमुख खेलाडी अन्तर्राष्ट्रिय ड्युटीबाट फर्किएका छन् । तर, हामी क्याडिजविरुद्ध राम्रो टोली उतार्नेछौं । घरेलु मैदानमा हामीले सधैं राम्रो गर्नुपर्छ,’ जिदानले भने ।

ला लिगाको उपाधि होड र खास गरी बार्सिलोनासँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा जिदानले चेतावनीमूलक भनाइ राखे । उनले आफूहरूलाई ला लिगामा बार्सिलोनालाई लिएर कुनै चिन्ता नरहेको बताए । ‘हामी सधैं आफ्नो काम राम्रोसँग गर्न चाहन्छौं । यहाँ खेल्ने २० वटै टोली च्याम्पियन बन्न चाहन्छन् । सबैले सकेको राम्रो गर्ने प्रयास गर्छन् । हामी पनि यही गर्छौं,’ जिदानले भने, ‘रियल मड्रिडको प्रतिस्पर्धा बार्सिलोना वा एथ्लेटिको मड्रिडसँग मात्रै हैन, १९ वटै टोलीसँग हो ।’

बार्सिलोनासँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा जिदानले भने, ‘म सधैं भन्छु, बार्सिलोना उत्कृष्ट टिम हो, जोसँग पछिल्लो दशक सबैभन्दा धेरैपटक लिग च्याम्पियन बनेको अनुभव छ । तर, हामीलाई उनीहरूबाट कुनै चिन्ता छैन । मेरो टिम उनीहरूसँग सबै हिसाबले प्रतिस्पर्धा गर्न तयार छ,’ जिदानले भने, ‘उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा हुनु सधैं विशेष हुन्छ । गत सिजन च्याम्पियन बन्दा हाम्रो जुन मनोविज्ञान थियो, यसपटक पनि उस्तै छ ।’

जिदानले लिगको यात्रा धेरै लामो हुने भएकाले अहिले नै उपाधिबारे बोल्नु हतार हुने बताए । ‘यो त भर्खर सुरुआत हो । लिगको यात्रा धेरै लामो हुन्छ । धेरै खेलमा जे पनि हुन्छ । यसपटक उपाधिमा विगतको भन्दा थप प्रतिस्पर्धा हुने मैले देखेको छु,’ जिदानले भने, ‘प्रतिस्पर्धा बढ्नु राम्रो हो । लिगका लागि र फ्यानहरूका लागि पनि । यसले लिगको महत्त्वलाई अझै विशेष बनाउँछ ।’

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १८:०७
Loading...