मेस्सीलाई पछि पार्दै टर स्टेगेनले जिते उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं, असोज ३०
स्पेनिस क्लब बार्सिलोनाका प्रमुख गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले गत सिजन २०१९–२० अन्तर्गत बार्सिलोना क्लब भित्रबाट उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । आज क्लबले औपचािरक रूपमा जर्मन गोलकिपरलाई गत सिजनका लागि उत्कृष्ट खेलाडीको अवार्ड विजेता घोषणा गरेको हो ।

बार्सिलोनाले विगत ११ वर्षदेखि हरेक वर्ष क्लबको सिनियर टोलीबाट एक उत्कृष्ट खेलाडीलाई ‘अल्डो रोभिरा अवार्ड’ प्रदान गर्दै आएको छ । यो अवार्ड कसलाई दिने भन्ने निर्णय क्लबको जुरी टिम र क्लबका मिडिया पर्सनले गर्ने गर्छन् । यो अवार्ड क्लबका पूर्वअध्यक्ष जोसेप लोलुइज रोभिराले आफ्ना छोरा अल्डोको सम्झनामा स्थापना गरेका हुन्, जसले सन् २००९ को मार्च १८ मा मोटरसाइलक दुर्घटनामा परेर ३७ वर्षको उमेरमा ज्यान गुमाएका थिए ।

टर स्टेगेनले यो अवार्ड पहिलोपटक जितेका हुन् । यो अवार्ड हालसम्म सबैभन्दा धेरै ६ पटक लिओनल मेस्सीले जितेका छन् । गत वर्ष यो अवार्ड जेरार्ड पिकेले जितेका थिए ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १७:५३
Loading...