मेस्सीले खुलाए पछिल्लो समय धेरै गोल गर्न नसक्नुको कारण

एजेन्सी, असोज ३०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले पछिल्लो समय आफूले सधैंझैं गोल गर्न नसक्नुको कारण खुलाएका छन् । ‘टिवाईसी स्पोर्टस’सँग कुरा गर्दै आफ्नो पछिल्लो अवस्थाबारे आफूलाई थाहा भएको उनले बताएका छन् ।

बार्सिलोनामा नयाँ सिजन सुरु भइकन मेस्सीले ३ खेलबाट १ गोल मात्रै गरेका छन् । मेस्सीले १ गोल पनि पेनाल्टीमार्फत् गरेका हुन् । ३ खेल पूरा समय खेले पनि उनका नाममा १ गोल मात्रै छ । उता, अर्जेन्टिनी टोलीमा हालै २ खेल खेलेका मेस्सीले त्यहाँ पनि १ गोल पेनाल्टीमार्फत् नै गरे । क्लब र देशबाट गरी उनले नयाँ सिजनको सुरुआतमा ५ खेलबाट २ गोल गरेका छन् । र, दुवै गोल पेनाल्टीमार्फत् भएका छन् । नयाँ सिजनको सुरुआतमा मेस्सीले सधैंझैं राम्रो सुरुआत गर्न नसकेको भन्दै समर्थकहरूले निराशा व्यक्त गरिरहेका छन् ।

तर, मेस्सीले भने अब बार्सिलोनामा आफूले सधैंभन्दा फरक भूमिका निभाउने भन्दै विगत वर्षहरूजस्तो गोल हुन नसक्ने स्वीकारे । मेस्सीले अब गोलका लागि आफ्नो पागलपना विगतमा जस्तो नरहने पनि बताए । उनले आफूले गोलका लागि नखेल्ने बरु टिमलाई फरक ढंगले सघाउन आफूले क्रमशः भूमिका बदल्दै लगेको बताएका छन् ।

‘पछिल्लो समय मेरो अवस्थाबारे मलाई थाहा छ । अब मसँग विगतमा जस्तो गोलका लागि ठूलो पागलपना छैन,’ मेस्सीले भनेका छन्, ‘म धेरै गोल नगरी पनि टिमलाई फरक ढंगले सघाउन सक्छु । बार्सिलोनामा मेरो भूमिका अब बिस्तारै बदलिँदै जानेछ ।’

बार्सिलोनामा १६ वर्षदेखि खेल्दै आएका मेस्सीले हालसम्म ७३४ खेल खेलेका छन् । सोक्रममा उनले ६३५ गोल गर्दै २५६ असिस्ट प्रदान गरेका छन् । उनी बार्सिलोनाका सर्वाधिक गोलकर्ताका साथै सर्वाधिक असिस्टकर्ता खेलाडी पनि हुन् ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १५:०६
Loading...