बार्सिलोनाका प्रशिक्षकसँग ग्रीजम्यानको गुनासो

एजेन्सी, असोज ३०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले प्रशिक्षक रोनाल्ड कोम्यानसहित अघिल्ला प्रशिक्षकहरूसँग गुनासो गरेका छन् । बार्सिलोनामा राम्रो लयमा प्रदर्शन गर्न नसकिरहेका बेला ग्रीजम्यानको आलोचना भइरहेको छ । खास गरी बार्सिलोनामा पछिल्लो समय नउी खराब अवस्थाबाट गुज्रिरहेका छन् ।

नयाँ प्रशिक्षक कोम्यानले ग्रीजम्यालाई प्रमुख भूमिका दिने बताउँदै आए पनि ग्रीजम्यानले कुनै पनि खेलमा ९० मिनेट खेल्न पाएका छैनन् । समयको मात्रै कुरा होइन, उनले पाएको समयमा गोल पनि गर्न सकेका छैनन्, न त असिस्ट नै गरेका छन् । बार्सिलोनामा नयाँ सिजनमा उनले ३ खेलबाट गोल र असिस्ट दुवै गर्न सकेका छैनन् ।

तर, हालै फ्रान्सको टोलीबाट अन्र्राष्ट्रिय खेल खेल्नेक्रममा उनले राम्रो प्रदर्शन गरे । उनले अन्तर्राष्ट्रिय ब्रेक हुँदा ३ खेलबाट २ गोल गरे । उनले पहिलो मैत्रीपूर्ण खेलमा युक्रेनविरुद्ध १ गोल गरे । फ्रान्सले सो खेल ७–१ ले जितेको थियो । त्यसपछि पोर्चुगलविरुद्ध दोस्रो खेलमा उनले गोल गर्न सकेनन् । सो खेल ०–० मा सकिएको थियो । त्यसपछि फ्रान्सले १–२ ले जितेको तेस्रो खेलमा उनले क्रोएसियाविद्ध १ गोल गरे ।

राष्ट्रिय टोलीमा राम्रो प्रदर्शन गर्दै गोल गरेपछि ग्रीजम्यानले बार्सिलोनामा आफ्नो खास भूमिका नपाएको भन्दै गुनासो गरेका छन् । क्रोएसियासँगको खेलपछि मिडियासँग कुरा गर्दै उनले बार्सिलोनामा अघिल्ला प्रशिक्षकसहित नयाँ प्रशिक्षकले पनि आफूलाई आफ्नो भूमिका नदिँदा आफ्नो प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको बताए ।

‘प्रशिक्षक (फ्रान्सका प्रशिक्षक डेडिएर डेस्च्याम्पस) लाई मैले कहाँबाट खेल्दा राम्रो गर्न सक्छु भन्ने राम्रोसँग थाहा छ । उहाँले मलाई दिनुभएको भूमिका र स्थान मेरा लागि सही छ,’ ग्रीजम्यानले भने, ‘उहाँको योजनाले मलाई र मेरा सहकर्मीको आत्मविश्वास बढाउँछ । र, हामी टिमका रूपमा राम्रो गर्न सक्छौं,’ ग्रीजम्यानले भने ।

बार्सिलोनामा आफूले अपेक्षा गरेअनुसारको भूमिका नपाएको ग्रीजम्यानले खुलेरै बताए । ‘त्यहाँ (बार्सिलोना) मलाई राष्ट्रिय टोलीमा जस्तो प्रशिक्षकले मेरो भूमिकामा विश्वास देखाउनुभएन । विगतमा र अहिले पनि । म यहाँ जस्तो भूमिमा छु, त्यहाँ पनि त्यसअनुसार हुँदा म राम्रो गर्न सक्छु । मलाई लाग्छ, बिस्तारै राम्रो हुँदै जानेछ,’ ग्रीजम्यानले भने ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १०:५३
Loading...