‘कोरोना संक्रमित’ रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्ने सम्भावना कति ?

एजेन्सी, असोज २९
कोरोना भाइरसबाट संक्रमित भएका पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनअन्तर्गत युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाविरुद्ध खेल्ने सम्भावनालाई लिएर चर्चा हुन थालेको छ । अघिल्लो दिन मात्रै पोर्चुगलको राष्ट्रिय टिमले रोनाल्डो कोरोनाबाट संक्रमित भएकाले टोली छाडेको पुुष्टि गरेको थियो ।

अघिल्लो दिन नै रोनाल्डो क्लब युभेन्टसका लागि इटाली फर्किसकेका छन् । चाँडोभन्दा चाँडो क्वारेन्टिन अवधि पूरा गरेर मैदान फर्किन उनले आफ्नो देशको खेलसमेत नहेरी इटाली फर्किएका हुन् । नेसन्स लिगमा गत राति पोर्चुगलले स्वीडेनलाई ३–० ले हराएको खेल रोनाल्डोले टुरिनस्थित आफ्नो घरमा बसेर टिभीमार्फत् हेरेका थिए ।

रोनाल्डोलाई कोरोना संक्रमण भए पनि उनको स्वास्थ्य अवस्था ठीकठाक रहेको बताइएको छ । उनमा कोरोनाको लक्षण देखिएको छैन । तैपनि, उनले संक्रमित देखिएपछि इटालियन सरकारको नियमअनुसार १० दिन मात्रै आइसोलेसनमा बसे पुग्छ । अन्य ठाउँमा १४ दिन बस्नुपर्छ । त्यसबीचमा उनको पटक–पटक कोरोनाको जाँच हुनेछ । उनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ नआउँदासम्म फुटबल खेल्न पाउँदैनन् ।

कोरोनाबाट संक्रमित भएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्ना खास प्रतिस्पर्धी लिओनल मेस्सीको टिम बार्सिलोनाविद्ध खेल्ने सम्भावनाको हिसाब हुन थालेको छ । युभेन्टस र बार्सिलोना दुवैले समूह चरणअन्तर्गत दोस्रो खेलका रूपमा एकअर्काविरुद्ध उत्रिनेछन् । सो खेल नेपाली समयअनुसार अक्टोबर २९ तारिखमा युभेन्टसको घरमा हुनेछ ।

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न खेल हुने दिनभन्दा ७ दिनअघि नै कोरोना जाँचको रिपोर्ट नेगेटिभ आइसक्नुपर्छ । यसको अर्थ अन्तिम मिति अक्टोबर २१ तारिखसम्म उनको रिपोर्ट नेगेटिभ आइसक्नुपर्छ । अन्यथा उनले बार्सिलोनाविरुद्ध खेल्न पाउनेछैनन् ।

क्वारेन्टिनमा बसेको ७ दिनबाट रोनाल्डोको कोरोना जाँच हुनेछ । १० दिनको बसाइ सकिनुअघि तीनपटक उनको जाँच गराइनेछ । यदि सो अवधिमा रिपोर्ट नेगेटिभ आए उनले युभेन्टसबाट सिरी ए लिगमा खेल र च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल गरी दुई खेल गुमाउनेछन् ।

बार्सिलोनाविरुद्ध खेल्ने योजनासाथ रोनाल्डो क्वारेन्टिन बसाइ पूरा गर्न चाँडै इटाली फर्किएका हुन् । तसर्थ, यदि १० दिनको बीचमै उनको रिपोर्ट नेगेटिभ आए रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न अनुमति पाउनेछन् ।

युभेन्टसका आगामी खेल

अक्टोबर १७ – क्रोटोने भर्सेस युभेन्टस – सिरी ए
अक्टोबर २० – डाइनाभो किभ भर्सेस युभेन्टस – च्याम्पियन्स लिग
अक्टोबर २५ – युभेन्टस भर्सेस भेरोना – सिरी ए
अक्टाबेर २८ – युभेन्टस भर्सेस बार्सिलोना – च्याम्पियन्स लिग

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार १६:२८
Loading...