नेइमारले रोनाल्डोलाई पछि पारे

काठमाडौं, असोज २९
ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय गोल संख्यामा आफ्नो देशका लिजेन्ड खेलाडी रोनाल्डो नाजरियोलाई पछि पारेका छन् । अघिल्लो दिन फिफा विश्वकप छनौट खेलक्रममा पेरुविरुद्धको खेलमा ह्याट्रिक गर्दै उनले रोनाल्डोलाई पछि पारेका हुन् । २८ वर्षका नेइमार अब आफ्नो देशका लागि दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

यता, दक्षिण अमेरिकी क्षेत्रबाट भने उनी तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । नेइमारभन्दा अघि अर्जेन्टिनाका लिओनल मेस्सी र पहिलो स्थानमा ब्राजिलकै लिजेन्ड पेले रहेका छन् । हालको स्थितिमा नेइमार मेस्सी भन्दा मात्रै ७ गोल र पेलेभन्दा १३ गोलले पछि छन् ।

नेइमारले पेरुविरुद्ध ह्याट्रिक गरेसँगै उनको कूल गोल संख्या ६४ पुगेको छ । पेरुविरुद्धको खेलअघि उनको गोल संख्या ६१ थियो, जुन रोनाल्डोको भन्दा १ गोलले कमी थियो । तर, पेरुविरुद्ध ३ गोल गरेपछि उनले रोनाल्डोलाई २ गोलले पछि पारेका हुन् । आफ्नो करिअरभरि रोनाल्डोले ९८ खेलबाट ६२ गोल गरेका थिए । नेइमारलाई ६२ गोल गर्न १०३ खेलसम्म लाग्यो ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार १५:०८
Loading...