रोनाल्डोबिना पनि पोर्चुगलको शानदार जित : शीर्ष स्थान कायमै

काठमाडौं, असोज २९
युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले प्रभावशाली जित निकालेको छ । गत राति भएको चौथो खेलमा पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्वीडेनमाथि ३–० को एकपक्षीय जित निकाल्यो । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिनै घरेलु मैदानमा उत्रिँदा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

पोर्चुगललाई प्रभावशाली जिताउन युवा खेलाडी डिएगो जोटा नायक बने । उनले २ गोल गर्नुका साथै १ गोलमा असिस्ट पनि गरे । अर्को १ गोल बर्नान्डो सिल्भाले गरे । पोर्चुगलका लागि खेलको २१औं मिनेटमा सिल्भाले डिएगो जोटाको पासमा पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ४४औं मिनेटमा जोटाले गोल गरे । उनले जुआन कान्सेलेको पासमा उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा पनि जोटाले नै पोर्चुगलका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे । उनले तेस्रो गोल कार्भाहालोको पासमा गरेका थिए ।

सो गोलपछि खेलमा थप गोल भएन । र, खेल पोर्चुगलले ३–० ले जित्यो । अब यो जितसँगै पोर्चुगल लिग एअन्तर्गत समूह–३ को शीर्ष स्थानमा कायमै छ । ४ खेलबाट पोर्चुगलले १० अंक बनाएको छ । फ्रान्ससँग समान १०–१० अंक भए पनि पोर्चुगल गोलअन्तरमा अघि रहेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ११:१७
Loading...