नापोली नखेलेको खेलमा युभेन्टसलाई ३–० को जित दिने निर्णय : नापोलीको १ अंक खोसियो

एजेन्सी, असोज २८
इटालियन सिरी ए लिग फुटबलमा नापोलीसँग सिजनको पहिलो खेल नखेली युभेन्टसलाई ३–० को जित दिने निर्णय सिरी ए लिगले गरको छ । आज लिगको खेलकुद न्यायलयले औपचारिक रूपमा यस्तो निर्णय गरेको हो । गत अक्टोबर ४ तारिखमा युभेन्टस र नापोलीको खेल हुने तय थियो । युभेन्टसको घरमा हुने सो खेलमा नापोली उपस्थित नै नभएपछि युभेन्टसलाई एकपक्षीय रूपमा ३–० को जित प्रदान गर्ने निर्णय भएको हो ।

युभेन्टसको घरेलु मैदानमा हुने गरी तय भएको सो खेल खेल्न नापोली सहभागी भएन । उसले आफ्ना २ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि खेलमा सहभागिता नजनाएको बताएको थियो । तर, सिरी ए लिगले नापोलीको सो कदमलाई कोरोना भाइरसको ‘प्रोटोकल’ बिपरीत रहेको ठहर गरेको छ । र, नापोली खेलमा सहभागी नभएपछि लिगको नियमअनुसार युभेन्टस स्वतः विजेता हुने निर्णय गरेको छ ।

खेल्दै नखेली सो खेलमा युभेन्टसलाई ३–० को जित र ३ अंक दिने निर्णय गर्दा लिगले नापोलीको खाताबाट १ अंक कारबाहीस्वरूप झिक्ने निर्णय पनि लिगले गरेको छ । कोरोना प्रोटोकलअनुसार कुनै पनि क्लबका ४ जनाभन्दा कम खेलाडीमा कोरोना लागेको खण्डमा खेलमा सहभागी नहुन पाइँदैन । ४ जना सोभन्दा बढी खेलाडीलाई कोरोना लागे सो टिमको अनुरोधधमा उसका खेल स्थगित गर्न सकिन्छ । तर, नापोलीले प्रोटोकल बिपरीत २ जना खेलाडी कोरोना संक्रमित हुँदैमा खेलमा सहभागी नभएको भन्दै कारबाही गरेर १ अंक खोसिएको हो ।

युभेन्टसलाई नापोलीविरुद्ध ३– को जित दिएपछि युभेन्टसको खातामा अब ३ खेल सकिँदा ७ अंक भएको छ । ऊ चौथो स्थानमा छ । यता, कारबाहीमा परेको नापोलीबाट १ अंक खोसिँदा ऊ ५ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार २२:५९
Loading...