नेसन्स लिगमा आज क्रोएसिया र फ्रान्सको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असोज २८
युइएफए नेसन्स लिग फुटबलमा आज राति क्रोएसिया र फ्रान्सको रोमाञ्चक खेल हुँदैछ । लिगको चौथो खेलका लागि क्रोएसियाले फ्रान्सलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुनेछ ।

क्रोएसिया र फ्रान्स सन् २०१८ मा रसियामा आयोजित विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि भिडेका थिए । जहाँ फ्रान्सले पहिलोपटक विश्वकपको फाइनल पुगेको क्रोएसियालाई हराएर उपाधि जितेको थियो । त्यसपछि दोस्रोपटक यी दुई टोली आज राति भिड्का लागेका हुन् ।

गत महिना मात्रै नेसन्स लिगकै पहिलो लेगमा यी दुई टोली आमनेसामने भइसकेका छन् । आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएको थियो । आज घरेलु मैदानमा उत्रिँदा क्रोएसिया फ्रान्ससँग बदला लिने दाउमा हुनेछ ।

हाल अंक तालिकामा फ्रान्स ३ खेलपछि ७ अंक बनाएर दोस्रो स्थानमा छ भने क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । ७ अंक नै भएको पोर्चुगल शीर्ष स्थानमा छ । आजै राति यस समूहबाट पोर्चुगल र स्वीडेनको खेल पनि हुँदैछ ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार १७:३३
Loading...