नेसन्स लिग : आज रोनाल्डोबिनाको पोर्चुगल स्वीडेनसँग भिड्दै

काठमाडौं, असोज २८
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये साबिक च्याम्पियन पोर्चुगल र स्वीडेनको खेल हेर्नलायक हुनेछ । यो खेल पोर्चुगलको घरेलु मैदानमा नेपाली समयनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

आजको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हुनेछैनन् । अघिल्लो दिन मात्रै ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी टोलीबाहिर छन् । हिजोबाटै उनीबिनाको टिमले प्रशिक्षण गरिरहेको छ । कोरोना देखिएपछि रोनाल्डो टोलीबाहिर रहेका हुन् । उनी पोर्चुगलको खेल हुने रंगशाला क्षेत्रमै आइसोलेसन बनाएर बसिरहेका छन् ।

घरेलु मैदानमा स्वीडेनविरुद्ध उत्रिँदा पोर्चुगल दबाबमा हुनसक्छ । यसअघिको पहिलो खेलमा पोर्चुगलले स्वीडेनलाई उसकै घरमा ०–२ ले हराउँदा रोनाल्डोले नै २ गोल गरेका थिए । तर, आज पोर्चुगिज टोलीमा रोनाल्डो हुनेछैनन् । उनी नहुँदा टोलीको फ्रन्ट लाइन जुआओ फेलिक्स, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेजसहितका खेलाडी पहिलो रोजाइमा हुनेछन् ।

हाल अंक तालिकामा पोर्चुगल ३ खेलपछि ७ अंकसहित शीर्ष स्थानमा छ । समान ७ अंक नै भएको फ्रान्स दोस्रो स्थानमा छ । आज पोर्चुगलको घरमा उत्रिन लागेको स्वीडेनले यसअघिका ३ वटै खेल हारेको छ ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार १३:२४
Loading...