विश्वकप छनौट : ब्राजिलको शानदार जितमा नेइमारको ह्याट्रिक

काठमाडौं, असोज २८
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि जारी दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलमा ब्राजिलले शानदार जित निकालेको छ । आज बिहान भएको दोस्रो खेलमा ब्राजिलले पेरुमाथि ४–२ को कमब्याक जित निकाल्यो । पेरुलाई उसैको घरमा हराउनेक्रममा ब्राजिलका लागि स्टार फरवार्ड नेइमारले ह्याट्रिक गोल गरे । उनले २ गोल पेनाल्टीमार्फत् गरेका थिए ।

ब्राजिलले पछि परेको स्थिति उल्टाएर खेलमा जित निकालेको हो । पेरु खेलको अन्त्यतिर ९ खेलाडीमा सीमित भएको थियो । उसका खेलाडी कार्लोस काकेड ८६औं र कार्लोस जाम्बरानोले ८९औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए ।

पेरुका लागि खेलको छैटौं मिनेटमा आन्द्रे कारिल्लोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, २८औं मिनेटमा ब्राजिलका लागि नेइमारले पेनाल्टीमार्फत् गोल गरेर खेल बराबरी बनाए । त्यसपछि ५९औं मिनेटमा पुनः घरेलु टोली पेरुले खेलमा अग्रता लियो । सो गोल रेनाटो तपायाले गरेका थिए ।

तर, त्यसपछि ब्राजिलले खेल आफ्नो पकडमा राख्यो । ६४औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेर खेल २–२ बनाए । बराबरीतर्फ उन्मुख रहेका बेला ८३औं मिनेटमा ब्राजिलले दोस्रो पनाल्टी पायो, जसमा नेइमारले नै गोल गर्दै टिमलाई अग्रता दिलाए । फेरि इन्जुरी समयको चौथो मिनेटमा नेइमारले नै गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने ब्राजिलले २–४ को जित निकाल्यो ।

अब यो जितपछि ब्राजिल दुईवटै खेल जितेर ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा ६ अंक नै भएको अर्जेन्टिना छ । ४ अंक भएको कोलम्बिया तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार ०८:३९
Loading...