‘रियल मड्रिडले च्याम्पियन्स लिग जित्न हाजार्ड १०० प्रतिशत फिट हुनुपर्छ’

एजेन्सी, असोज २६
स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग जित्नका लागि उसका प्रमुख खेलाडी इडेन हाजार्ड फिट भएर मैदानमा चम्किनुपर्ने धारणा इंग्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले राखेका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले रियलले हाजार्डलाई जुन योजना र अपेक्षाका साथ भित्र्याएको थियो, त्यो अझै धेरै टाढा नै रहेको बताएका छन् ।

‘यदि म गलत छैन भने, रियलले हाजार्डलाई क्रिस्टियानो रोनाल्डोको अभाव टार्न अनुबन्ध गरेको थियो । हजार्ड एक उत्कृष्ट प्ले मेकर हुन् । र, उनले रोनाल्डोकै जत्तिको काम नगरे पनि टिमलाई बलियो बनाउन सक्थे,’ वेंगरले भने, ‘तर, स्पेन पुगेपछि उनी लगातार चोटसँग छन् । सायद हाजार्ड आफैंले पनि यस्तो हुनेछ भनेर सोचेका थिएनन् होला ।’

रियल मड्रिड हालकै टिमका साथ पनि च्याम्पियन्स लिग जित्न सक्षम टोली रहेको तर त्यसका लागि हाजार्डले आफ्नो स्तरको काम गर्नुपर्ने वेंगर बताउँछन् । ‘मेरो विचारमा रियल मड्रिड अहिले भएको टोलीका साथ पनि अर्को च्याम्पियन्स लिग जित्न सक्षम टिम छ । तर, त्यसका लागि हाजार्ड १०० प्रतिशत फिट हुनुपर्छ र उनले आफ्नो स्तरको काम गर्नुपर्छ,’ वेंगरले भने ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार २१:३८
Loading...