रियलबाट खेल्ने पोग्बाको चाहना कहिले पूरा होला ?

एजेन्सी, असोज २४
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बाले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्ने आफ्नो चाहना रहेको बताएका छन् । हाल फ्रान्सको राष्ट्रिय टोलीमा रहेका उनले एक अन्तर्वार्तामा कुरा गर्दै रियलबाट खेल्ने चाहना सबै खेलाडीको रहने बताए । रियलमा फ्रेन्च कोच जिनेदिन जिदान प्रशिक्षक छन्, जसको सम्बन्ध पोग्बासँग राम्रो छ ।

उनीहरू दुवै फ्रान्सकै भएकाले पनि रियलमा जिदान र पोग्बा एक हुन सक्ने सम्भावना छँदैछ । त्यसै पनि जिदानले सार्वजनिक रूपमै पोग्बा आफूलाई मनपर्ने खेलाडी रहेको बताउँदै आएका छन् । ढिलो–चाँडो पोग्बा युनाइटेड छाडेर रियल जान सक्छन् । युनाइटेडसँग हाल पोग्बाको सम्झौता यस सिजनको अन्त्यसम्मका लागि छ ।

‘अहिले म म्यानचेस्टर युनाइटेडको खेलाडी हुँ । यहाँ मेरो सम्झौता सकिन अझै समय छ । हालसम्म क्लबले मलाई केही भनेको छैन । सायद मलाई भन्नेछन् । प्रस्ताव आएपछि हामी टेबुलमा बस्नेछौं,’ पोग्बाले भने, ‘अहिले युनाइेटडका लागि केन्द्रित हुनु मेरो काम हो । अहिले म यहाँ खुसी छु ।’

रियल मड्रिडबा खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पोग्बाले भने, ‘अवश्य पनि, रियल मड्रिडजस्तो क्लबबाट खेल्ने सपना सबै खेलाडीको हुन्छ । मेरो पनि छ । म करिअरमा कुनै न कुनै समय त्यहाँबाट खेल्न चाहन्छु,’ पोग्बाले भने, ‘म जिदानसँग काम गर्न रुचाउँछु । सायद उनी पनि यो चाहन्छन् ।’

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार २१:३२
Loading...