७–२ ले हारेपछि क्लोपले भने– ‘यस्तो कुरा हामीलाई सुहाउँदैन’

एजेन्सी, असोज १९
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक च्याम्पियन लिभरपुलले गत राति एस्टोन भिल्लासँग ७–२ अन्तरको बेइज्जतीपूर्ण हार भोग्यो । भिल्लाको घरमा लिभरपुल निरीह बन्दा इतिहासकै सबैभन्दा खराब हारको सिकार बन्यो । सो हारपछि लिभरपुल प्रिमियर लिगको इतिहासमै एकै खेलमा ७ गो खाने पहिलो डिफेन्डिङ च्याम्पियन टोलीको खराब रेकर्ड बनेको छ ।

गत रातिको खेलपछि लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले मिडियासँग कुरा गर्दै ७–२ को हार कल्पनाभन्दा बाहिरको रहेको बताए । ‘यस्तो हार र नतिजा मैले कल्पना गरेको थिइनँ । आज मात्रै हैन, म मेरो टिमका लागि कहिल्यै पनि यस्तो हार सोच्न सक्दिनँ,’ खेलपछि निराश क्लोपले भने ।

क्लोपले लिभरपुलस्तो डिफेन्डिङ च्याम्पियनका लागि ठूलो हार नसुहाउने बताए । ‘अघिल्लो सिजन हामीले च्याम्पियन्स लिग जित्यौं । गत सिजन ३० वर्षपछि प्रिमियर लिग जित्यौं । तर, आज ७–२ को हार भोग्यौं,’ क्लोपले भने, ‘लिभरपुलजस्तो च्याम्पियनलाई यस्तो कुरा सुहाउँदैन ।’

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार १९:५०
Loading...