‘ला लिगा यसपटक पनि रियल मड्रिडले जित्छ’

एजेन्सी, असोज १
सिजन २०१९–२० को स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले यसपटक पनि उपाधि जित्ने रियलका प्रमुख गोलकिपर थिबाउट कोर्टुवाले बताएका छन् । नयाँ सिजनको पूर्वसन्ध्यामा एक अन्तर्वार्तामा कुरा गर्दै बेल्जियन गोलकिपरले आफूहरू लगातार दोस्रोपटक लिग जित्न सफल हुने दाबी गरेका हुन् ।

‘नयाँ सिजन सुरु गर्दा हाम्रो लक्ष्य लगातार दोस्रोपटक ला लिगा च्याम्पियन बन्नु हो । जुनसुकै टिम हरेकपटक घरेलु लिग जित्न चाहन्छ । किनभने, लिग जित्नुको विशेष महत्त्व हुन्छ,’ कोर्टुवाले भने, ‘हामी दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यसाथ सिजनको थालनी गर्दैछौं । फेरि च्याम्पियन बन्नेमा हामी ढुक्क छौं ।’

कोर्टुवाले यसपटक लिगमा उपाधि होडमा रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिडसँगै सेभिल्ला पनि रहने बताए । ‘मेरो विचारमा यसपटक उपाधिका लागि सधैंझैं टप–३ टोलीबीच मात्रै प्रतिस्पर्धा हुनेछैन, यसपटक सेभिल्ला पनि यो होडमा हुनेछ । अवश्य पनि, उनीहरूले उपाधिमा प्रतिस्पर्धा देखाउनेछन् । किनभने, उनीहरू अहिले निकै बलियो स्थितिमा छन्,’ कोर्टुवाले भने ।

कोर्टुवाले आफू नयाँ सिजनका लागि तयार रहेको बताए । ‘गत सिजन मेरा लागि पहिलो सिजनभन्दा राम्रो थियो । नयाँ सिजनमा म यसअघिको सिजनभन्दा अझै राम्रो गर्न चाहन्छु । म नयाँ सिजनमा नयाँ चुनौती र नयाँ लक्ष्य प्राप्तिका लागि तयार छु,’ कोर्टुवाले भने ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार १५:१५
Loading...