बेल भित्र्याउन रियल मड्रिडसँग छलफलमा व्यस्त टोटनह्याम

एजेन्सी, भदौ ३१
स्पेनिस रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेल पूर्वक्लब टोटनह्याम फर्किने सम्भावना बढेको छ । रियलबाट वेल्सका फरवार्डको सरुवा प्रिमियर लिगमा गराउन अहिले दुवै पक्षबीच छलफल जारी छ । बेलका एजेन्ट जोननाथ बार्नेटले बेलको सरुवाका लागि रियल र टोटनह्यामबीच छलफल जारी रहेको सार्वजनिक रूपमा बताएका छन् ।

रियलमा जिनेदिन जिदानको नेतृत्वमा खेल्न नपाएका बेल स्पेनमा पछिल्ला वर्ष खराब समय बिताइरहेका छन् । फ्रेन्च कोचसँग राम्रो सम्बन्ध बन्न नसक्दा बेलको भविष्य संकटमा परेको छ । तर, यसपटक बेलले रियलको नर्कबाट मुक्ति पाउने सम्भावना बढेको हो ।

रियलले बेललाई सन् २०१३ मा त्यसबेलाको विश्वकीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो । रियलमा ७ वर्ष बिताउनेक्रममा रहेका बेलले जिदान प्रशिक्षकमा आउनुअघि टोलीका प्रमुख हिस्सा बने पनि जिदानको पालामा उनले टोलीमा सम्मानजनक स्थान पाउन सकेनन् । धेरैजसो खेलामा उनलाई टोलीमै राखिए भने कतिपय खेलमा बेन्चमै सीमित राखियो ।

तर, अहिले रियलमा बेलको खराब स्थिति बुझेको टोटनह्यामले आफ्ना पूर्वखेलाडीलाई फर्काउन चासो बढाएको छ । बेल पनि पूर्वक्लब जान तयार देखिएका छन् । बेलको सरुवालाई लिएर उनका एजेन्टले मुख खोलेका छन् । ‘ग्यारेथ अझै पनि टोटनह्यामलाई एकदमै माया गर्छन् । अहिले हामी टोटनह्याम र रियलसँग उनको सरुवाको विषयमा छलफल गरिरहेका छौं,’ बिबिसीसँग कुरा गर्दै एजेन्ट बार्नेटले भनेका छन्, ‘टोटनह्याम एक मात्रै त्यस्तो क्लब हो, जहाँ बेल हुन चाहन्छन् ।’

सन् २०१३ मा रियल पुगेका बेलले कूल २५१ खेल खेल्दै १०५ गोल गरेका छन् । सोक्रममा उनले दुई ला लिगा र चारपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ११:०८
Loading...