ग्यारेथ बेलको भविष्य अझै अनिश्चित

एजेन्सी, भदौ २७
स्पेनिस क्लब रियल मड्रिडका वेल्स फरवार्ड ग्यारेथ बेलको भविष्यबारे थप अनिश्चितता बढेको छ । हालै अन्तर्राष्ट्रिय ड्युटीबाट क्लब फर्किए पनि बेल टोलीको प्रशिक्षणमा सामेल भएका छैनन् । नेसन्स लिगमा वेल्सको टोलीमा दुवै खेल खेलेका बेलको प्रदर्शन सामान्य मात्रै रह्यो । तर, सो खेल दौरान जोर्नीमा समस्या देखिएपछि रियल फर्किएपछि पनि उनी सामूहिक प्रशिक्षणमा सामेल भएका छैनन् ।

जिनेदिन जिदानको नेतृत्वमा रियलमा खराब समय गुजारिरहेका ३१ वर्षीय बेलको भविष्य नयाँ सिजनमा पनि सुरक्षित छैन । विभिन्न रिपोर्टहरूअनुसार जिदानले बेललाई नयाँ सिजन टोलीमा राख्न चाहेका छैनन् । यसको अर्थ बेलले रियल नछाडे नयाँ सिजन पनि प्रशिक्षण गर्ने तर बेन्चमै बसेर सिजन बिताउनुपर्ने हुनसक्छ ।

जिदानको योजनामा आफू रहनेछैन भनेर बुझे पनि बेलले नयाँ विकल्पको खोजी गर्न चासो नदिएको बताइन्छ । रियलमा तलबबापत मोटो पैसा लिने बेलले बाहिर त्यसअनुसार तलब नपाउने अवस्थामा सरुवा नहुने अडानमा रहेको बताइन्छ । तर, ३१ वर्षका उनलाई अब अन्य क्लबले लैजाँदा रियलकै जस्तो तलब पक्कै दिनेछैनन् ।

यदि बेल मैदानमा खेल्न र बाँकी करिअर खेलेरै बिताउन चाहन्छन् भने केही कुरामा सम्झौता गरेर भए पनि रियल छाडेर विकल्प रोज्न तयार हुनु आवश्यक देखिन्छ । जिदानले रियलको टोली सम्हालेदेखि नै बेलले सम्मानजनक स्थान र समय पाएका छैनन् । रियलमा उनको भविष्य छैन र उनले समय मात्रै खेर पालिरहेका छन् भन्ने कुरा गत सिजनलाई हेरे स्पष्ट हुन्छ । त्यसै पनि बेल युरोपका टप–५ लिगमै खेल्न चाहन्छन् भने अब उनका लागि धेरै समय पनि छैन । किनभने, उनी ३१ वर्ष भइसकेका छन् ।

यो समर विन्डो खुल्दै गर्दा बेललाई उनको पूर्वक्लब टोटनह्यामले भित्र्याउन चाहेको चर्चा थियो । तर, आजसम्म उनको सरुवामा ठोस प्रगति हुन सकेको छैन । अहिले उनको नाम अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएर आइरहेको छ । तर, सक्रिय रूपमा बेललाई भित्र्याउन कुनै पनि क्लबले चासो देखाएका छैनन् ।

रियलमा जिदानकै अन्डरमा बेलले समय नपाउने र बाहिर जान ठूला क्लबले उनलाई भित्र्याउन चासो नदेखाउँदा बेलको भविष्य थप अनिश्चित बनेको हो । ला लिगामा समर विन्डो बन्द हुन करिब दुई साता मात्रै बाँकी रहेका बेला पनि बेलको सरुवा कुन लिगमा हुँदैछ भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार २१:१४
Loading...