१०० गोलपछि फर्नान्डेजद्वारा रोनाल्डोको प्रशंसा

एजेन्सी, भदौ २६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका युवा स्टार ब्रुनो फर्नान्डेजले राष्ट्रिय टोलीका आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । २ दिनअघि अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेपछि फर्नान्डेजले एक अन्तर्वार्तामा कुरा गर्दै रोनाल्डोको तािरफ गरेका हुन् । २ दिनअघि नेसन्स लिगको दोस्रो खेलमा पार्चुलले स्वीडेनलाई उसकै घरमा ०–२ ले हराउँदा रोनाल्डोले २ शानदार गोल गर्दै पोर्चुगलका लागि १०० गोल गरेका थिए । सो खेलको २ गोलसँगै उनको कूल अन्तर्राष्ट्रिय गोल संख्या १०१ पुगेको छ ।

अन्तर्राष्ट्रिय ड्युटी सकेर क्लब फर्किएपछि मिडियासँग कुरा गर्दै फर्नान्डेजले रोनाल्डोले सधैं टिमलाई सहज र मानसिक रूपमा बलियो बनाउने बताए । रोनाल्डो टोलीमा हुँदा हरेक खेलाडीको मनोबल उच्च रहने उनले बताए । ‘क्रिस्टियानो एक्लैको उपस्थितिले हामीलाई सजिलो बनाउँछ । उनी यस्ता खेलाडी हुन्, जसले खेलमा जुनसुकै बेला पनि नयाँ मोड सिर्जना गर्न सक्छन्,’ फर्नान्डेजले भनेका छन् ।

फर्नान्डेजले अघि थपे, ‘क्रिस्टियानो मैदानमा हुँदा हाम्रो मनोबल साँच्चै उच्च हुन्छ । हामी आफूलाई ज्यादा सुरक्षित ठान्छौं । हामी खेल हार्दैछौं भने पनि उनले हामीलाई अन्तिम मिनेटसम्म लड्न ऊर्जा दिन्छन् ।’

फर्नान्डेजले यो बताएका छन् कि, रोनाल्डोले अझै पोर्चुगलका लागि धेरै काम गर्नेछन् । ‘उनले १०० गोल पूरा गरे, यो ठूलो कोसेढुंगा हो । तर, यो नै अन्तिम होइन । उनले पोर्चुगलको टोलीका लागि अझै धेरै गोलहरू गर्नेछन्, अझै उपाधिहरू जित्नेछन्,’ फर्नान्डेजले थपे ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार १८:२६
Loading...