बार्सिलोनाका नयाँ खेलाडी भन्छन्– ‘रोनाल्डोसँग खेल्न आतुर छु’

एजेन्सी, भदौ १५
स्पेनिस बार्सिलोनाका अनुबन्धित नयाँ खेलाडी फ्रान्सिस्को ट्रिनकाओले आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्न आतुर रहेको बताएका छन् । यसै समर बार्सिलोनाले अनुबन्ध गरेका २० वर्षका फरवार्डलाई यसपटक पहिलोपटक पोर्चुगलको राष्ट्रिय टोेलीमा डाकिएको छ ।

यसै साता युइएफए नेसन्स लिगमा हुने खेलबाट उनले डेब्यु गर्दैछन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले ट्रिनकाओलाई राष्ट्रिय टोलीमा पहिलोपटक डाकेका हुन् । पोर्चुगलले नेसन्स लिगमा यस साता क्रोएसिया र स्वीडेनसँग गरी दुई खेल खेल्दैछ । सो खेलका लागि ट्रिनकाओ पोर्चुगल पुगिसकेका छन् ।

पोर्चुगल पुगेपछि एक अन्तर्वार्तामा कुरा गर्दै ट्रिनकाओले रोनाल्डोसँग पहिलोपटक खेल्न आफू निकै आतुर र उत्साहित रहेको बताएका छन् । ‘क्रिस्टियानो जसको फुटबल हेरेर म हुर्किएँ, फुटबल सिकें, उनी मेरो जीवनका सबैभन्दा ठूला आइडल हुन,’ ट्रिनकाओले भनेका छन्, ‘उनीसँग देशको जर्सीमा पहिलोपटक सँगै खेल्ने समय आएको छ । म निकै आतुर र उत्साहित छु ।’

ट्रिनकाओले प्रशिक्षकले आफूलाई विश्वास गरेर टोलीमा डाकेकोमा खुसी व्यक्त गरे । ‘केही दिनअघि मात्रै म बार्सिलोनाको खेलाडी भएँ । र, आज राष्ट्रिय टोलीमा स्थान पाएँ । यो मेरा लागि निकै खुसीको कुरा हो,’ ट्रिनकाओले भने, ‘म अन्तर्राष्ट्रिय डेब्युलाई सकेसम्म स्मरणीय बनाउन चाहन्छु । म तयार छु ।’

प्रकाशित मिति १५ भाद्र २०७७, सोमबार २१:०२
Loading...