युभेन्टसमा डिबालाको भविष्यबारे बोले नयाँ प्रशिक्षक

एजेन्सी, भदौ ९
इटालियन क्लब युभेन्टसका नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले सरुवा चर्चामा रहेका युवा स्टार खेलाडी पाउलो डिबालाको भविष्यबारे औपचारिक धारणा राखेका छन् । नयाँ प्रशिक्षकमा नियुक्त भएपछि पहलिोपटक मिडियासामु अफिसियल रूपमा प्रस्तुत भएका उनले डिबालाले क्लब छाड्ने वा बेच्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

२६ वर्षका डिबाला आफ्नो टोलीका लागि प्रमुख खेलाडी रहेको बतउँदै उनी आफ्नो योजनाको प्रमुख हिस्सा रहेको पिर्लोले बताए । उनको सरुवा चर्चामा सत्यता नरहेको पनि पिर्लोले बताए । ‘डिबाला हाम्रो टोलीका एक प्रमुख खेलाडी हुन् । उनको सरुवालाई लिएर बाहिर भइरहेका चर्चामा सत्यता छैन,’ आज मंगलबार मिडियासामु प्रस्तुत भएका उनले भने, ‘उनी मेरो योजनाको प्रमुख हिस्सा बन्नेछन् । उनी हामीसँग रहनेमा कुनै शंका छैन ।’

पिर्लोले डिबालाको तारिफ गर्दै उनी क्षमतावान् खेलाडी रहेको बताए । ‘उनमा प्रशस्तै क्षमता छ । उनी बक्स क्षेत्रमा प्रभावशाली खेलाडी हुन् । उनीजस्ता खेलाडी मेरो टोलीमा छन्, म उनीसँग काम गर्न उत्साहित छु,’ पिर्लोले भने, ‘अहिले योभन्दा बढी म बोल्न चाहन्नँ । किनभने, हामीले काम गर्न थालेका छैनौं ।’

प्रकाशित मिति ९ भाद्र २०७७, मंगलवार २०:१४
Loading...