रोनाल्डो आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी हुन् : सान्चो

एजेन्सी, भदौ ७
जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस प्ले मेकर जाडोन सान्चोले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको करिअरबाट आफू प्रेरित रहेको बताएका छन् । हाल क्लब मैत्रीपूर्ण खेलक्रममा रहेका २० वर्षका इंग्लिस खेलाडीले रोनाल्डोको फुटबल हेरेर आफू हुर्किएको पनि उल्लेख गरेका छन् ।

एक अन्तर्वार्तामा कुरा गर्दै उनले रोनाल्डोले आफ्नो जीवनको धरातलबाट उचाइसम्म पुग्दाको करिअरलाई आफूले नजिबाट नियालेको बताए । ‘घर छाड् छाड्दा युवा थिए । र, उनी अंग्रेजी बोल्न सक्दैन थिए । तर, पछि उनले धेरै राम्रोसँग सबै कुरा ग्रहण गरे । तपाईं हेर्नुहोस्, आज उनी कहाँ छन् । आधुनिक फुटबलका सर्वोत्कृष्ट खेलाडी, जो सधैं रहनेछन् ।’

सान्चोले अघि थपे, ‘मेरो चाहना छ– मेरो करिअर रोनाल्डोको जस्तै होस् । मैले फुटबल खेल्न सिक्दै गर्दा उनीजस्तै खेल्न चाहन्थें । आज उनको जस्तै करिअर होस् भन्ने चाहन्छु । तर, यो असम्भव छ ।’

सान्चोले रोनाल्डोले विभिन्न लिग र टिमबाट सफलता हाँसिल गरेर आफूलाई साबित गरेको बताए । ‘उनले एकै ठाउँबाट खेलेनन् । उनले चार ठाउँबाट खेले, सबै ठाउँमा सफल भए । क्लब फुटबलमा उनले जे जति गरेका छन्, त्योभन्दा ठूलो सफलता राष्ट्रिय टिमबाट पाएका छन् । रोनाल्डोले कतिवटा बालोन डि‘ओर वा कतिवटा व्यक्तिगत अवार्ड जिते भन्ने कुरा म ख्याल गर्दिनँ । म त यो ख्याल गर्छु कि– उनी क्लब र राष्ट्रिय टिम दुवैका च्याम्पियन हुन् ।’

रोनाल्डोसँग सहकर्मी बनेर खेल्ने चाहनाबारे सोधिएको प्रश्नमा सान्चोले भने, ‘उनीजस्ता खेलाडीसँग खेल्ने सपना हरेक युवा खेलाडीको हुन्छ । मेरो पनि छ । तर, कठिन छ । ….. तर, भविष्य कसले देखेको छ र ? रोनाल्डोले अझै ५ वर्ष सन्यास लिँदैनन्, यो बीचमा जे पनि हुनसक्छ ।’

प्रकाशित मिति ७ भाद्र २०७७, आईतवार १८:२६
Loading...