युभेन्टसद्वारा उमेर ढल्केका खेलाडीको धमाधम बिदाइ : थप दुई खेलाडीको सम्झौता भंग

एजेन्सी, भदौ ६
इटालियन क्लब युभेन्टसका २ जना खेलाडी फरवार्ड गोन्जालो हिगुइन र मिडफिलडर सामी खेडेरियाको सम्झौता क्लबले भंग गरेको छ । नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले उनीहरूलाई नयाँ सिजनका लागि टोलीमा नराख्ने भएपछि क्लबले दुवै खेलाडीसँगको सम्झौता खारेज गर्दै उनीहरूको कोठा खाली गर्ने भएको हो । यस्तो रिपोर्ट इटालीका खेल मिडियाले छापेका छन् ।

अर्जेन्टिनी फरवार्ड हिगुइन ३२ वर्षका र जर्मन मिडफिल्डर खेडेरिया ३३ वर्षका छन् । दुवैको बढ्दो उमेर र खस्किँदो प्रदर्शनका कारण नयाँ प्रशिक्षकले उनीहरूको सम्झौता खारेज गरेका हुन् । यदि यो अफिसियल रूपमा घोषणा भए दुवै खेलाडीले फ्रि ट्रान्सफरमा जहाँ पनि जान पाउनेछन् ।

पिर्लोले नयाँ सिजनका लागि टोलीमा युवा खेलाडीको उपस्थिति बढाउने योजनाअनुसार उमेर ढल्लेका खेलाडी छाँटिरहेका छन् । यसअघि मिडफिल्डर ब्लाइसी माटुइडीको पनि सम्झौता खारेज भएपछि उनी अमेरिकन क्लबमा अनुबन्ध भइसकेका छन् ।

पिर्लोले हाल टोलीमा रहेका बढ्दो उमेरका खेलाडीमा माटुइडीपछि हिगुइन र खेडेरियाबाहेक मिडफिल्डर आरोन राम्सेको पनि बिदा गर्ने तयारी गरेको खबर । त्यसैगरी, फरवार्ड डग्लस कोस्टालाई पनि बेच्न सक्ने चर्चा छ ।

प्रकाशित मिति ६ भाद्र २०७७, शनिबार २२:१२
Loading...