‘स्टार खेलाडी’ भित्र्याउन युभेन्टसले ८ जना खेलाडी बेच्दै

एजेन्सी, भदौ ५
इटालियन क्लब युभेन्टसले नयाँ सिजनअघिको समर विन्डोमा टोलीमा रहेका ८ जनासम्म खेलाडी बेच्ने तयारी गरेको छ । नयाँ खेलाडी भित्र्याउन तथा पैसा जम्मा गर्न क्लबले केही प्रमुख खेलाडीसहित दोस्रो रोजाइका खेलाडी टुरिनबाट बिदा गर्ने तयारी क्लबले गरेको हो । क्लबका खेल निर्देशक फावियो पारासिटीले एक अन्तर्वार्तामा कुरा गर्दै नयाँ खेलाडी ल्याउन हाल टोलीमा रहेका केही खेलाडी सरुवा बजारमा जाने बताएका छन् ।

इटालियन मिडियाका रिपोर्टअनुसार युभेन्टसले बेच्ने खेलाडीको सूचीमा विंगर फेडरिको बर्नान्डेची, राइट ब्याक एलेक्स सान्ड्रो, फरवार्ड डग्लस कोस्टा र अर्का फरवार्ड गोन्जालो हिगुइन प्राथमिकतामा छन् । बर्नान्डेचीलाई इंग्लिस क्लब टोटनह्यामले भित्र्याउन चासो देखाएको छ भने सान्ड्रो र कोस्टामाथि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको नजर छ । त्यसैगरी, मिडफिल्डर आरोन राम्से, सामी खडेरिया, ड्यानिएल रुगानी पनि बेचिने खेलाडीको सूचीमा छन् । बिक्रीमा रहेका अर्का खेलाडी डे सिग्लियो पनि रहेका छन् ।

केही इंग्लिस मिडियाले यस्तो रिपोर्ट छापेका छन् कि, युभेन्टसले पूर्वखेलाडीसमेत रहेका पाउल पोग्बा भित्र्याउन आफ्ना दुई खेलाडी कोस्टा र सान्ड्रो युनाइटेडलाई दिन तयार छ । नयाँ सिजनका लागि प्रशिक्ष्क आन्ड्रेया पिर्लोले स्पेनिस रियल मड्रिडका प्ले मेकर इस्को, युनाइटेडका पोग्बा, अर्को इंग्लिस क्लब उल्भ्सका राउल जिमेन्ज, स्पेनिस एथ्लेटिको मड्रिडका अल्भारो मोराटालागत खेलाडी अनुबन्ध गर्न प्रयास गरिरहेका छन् । पिर्लो आफ्नो पहिलो सिजनमा सबै हिसाबले एक आक्रामक र मजबुत टोली लिएर नयाँ सिजनमा हामफाल्ने तयारीमा छन् ।

प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार ०९:४७
Loading...