‘पोर्चुगल लगातार दोस्रोपटक युरो च्याम्पियन बन्न सक्षम छ’

एजेन्सी, भदौ १
सन् २०१६ को युरो कप विजेता टोली पोर्चुगलले लगातार दोस्रोपटक उपाधि जित्न सक्ने टोलीका प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले दाबी गरेका छन् । युरो कप–२०२० अर्को वर्षका लागि सरेको छ । तर, नाम भने यसै वर्षबाट रहनेछ । कोरोना भाइरसका कारण सो प्रतियोगिता अर्को वर्षलाई सरेको हो ।

सन् २०१६ मा फ्रान्समा आयोजित युरो कप क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले आयोजक फ्रान्सलाई उसैको भूमिमा हराएर उपाधि जितेको थियो । कप्तान रोनाल्डो घाइते भएर १७औं मिनेटमा मैदान छाडे पनि पोर्चुगलले १२० मिनेट खेल्दै १–० ले उपाधि पोल्टामा पारेको ाथियो ।

आगामी वर्ष हुने युरो कपमा पनि पोर्चुगल साबिक च्याम्पियनका हैसियतमा उपाधि दाबेदार रहने प्रशिक्षक सान्तोषले बताएका छन् । पोर्चुगिज पत्रिका ‘ओ जोगो’सँग कुरा गर्दै उनले पोर्चुगल लगातार दोस्रोपटक च्याम्पियन बन्न सक्षम रहेको बताए । ‘मानिस पोर्चुगलको टोलीमाथि शंका गर्छन् । तर, हामीले त्यो शंकालाई २०१६ मै गलत साबित गरिसकेका छौं,’ सान्तोषले भनेका छन्, ‘मानिस अहिले पनि हामीमाथि शंका गर्छन् । तर, हामीमाथि लगातार दोस्रोपटक युरो च्याम्पियन बन्न सक्ने क्षमता र आत्मविश्वास छ ।’

सान्तोषले अहिलेको पोर्चुगलको टोली २०१६ को भन्दा बलियो र गतिशील रहेको पनि बताए । ‘मैले प्रशिक्षकका दृष्टिमा हेर्दा हाम्रो टोली पहिलेभन्दा अहिले झन् राम्रो छ । किनभने, हामीसँग अहिले प्रशस्तै युवा खेलाडी तयार छन्, जोसँग राष्ट्रिय टिमलाई योगदान दिन सक्ने क्षमता छ,’ उनले भने ।

सान्तोषले अर्को वर्ष रोनाल्डोकै कप्तानीमा पोर्चुगल उपाधिका लागि होमिने पनि बताए । ‘मानिस क्रिस्टियानोको उमेरको हिसाब गरिरहेका होलान् । तर, हामी अर्को वर्ष उनकै कप्तानीमा युरो कप खेल्नेछौं,’ सान्तोषले भने, ‘उनी टिमका कप्तान मात्रै हैनन्, सबसे ठूलो हिम्मत र ऊर्जा पनि हुन् ।’

अर्को वर्ष हुने युरो कपमा पोर्चुगल ज्यादै कठिन समूहमा परेको छ । पोर्चुगल ग्रुप ‘एफ’मा परेको छ । यस ग्रुपलाई ‘ग्रुप अफ् डेथ’ मानिएको छ । सो समूहमा पोर्चुगलसहित २०१६ को उपविजेता फ्रान्स र विश्वफुटबलको महाशक्ति जर्मनी पनि छ । एक टोली प्ले अफ्बाट आउन बाँकी छ ।

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार २१:४२
Loading...