नयाँ सिजनका लागि ‘विष्फोटक मिडफिल्ड’ तयार पार्दै युभेन्टस : यस्तो छ तयारी

एजेन्सी, भदौ १
इटालियन क्लब युभेन्टसका नयाँ प्रशिक्षक आन्ड्रेय पिर्लोले नयाँ सिजनका लागि ‘विष्फोटक’ मिडफिल्ड तयार पार्ने तयारी थालेका छन् । अघिल्ला प्रशिक्षक माउरिसियो सार्रीलाई प्रतिस्थापन गर्दै केही दिनअघि मात्रै प्रशिक्षक बनेका पिर्लो क्लबका लिजेन्ड पनि खेलाडी हुन् । आफ्नो समयका स्टार मिडफिल्डर उनले विगतबाटै युभेन्टसको ठूलो समस्याका रूपमा फितलो मिडफिल्डलाई औंल्याउँदै आएका थिए ।

हाल उनै पिर्लो नयाँ बोस बनेका छन् । युभेन्टसले यो सिजन सिरी ए लिगबाहेक सबै प्रतियोगिता हारेपछि टोलीको चर्को आलोचना भइरहेको छ । धेरैले युभेन्टसको टोलीमा मिडफिल्ड गतिलो नभएको भन्दै आलोचना गर्ने गरेका छन् । यो कुरा बुझेका पिर्लोले नयाँ सिजनअघि सबैभन्दा प्राथमिकतासाथ मिडफिल्ड सुधार्न काम थालेका छन् ।

इटालियन मिडियाका अनुसार पिर्लोले हाल टोलीमा रहेका ४ जनासम्म (ब्लाइसी माटुइडीले क्लब छाडिसकेका छन्) मिडफिल्डर बेचेर २ जना भरपर्दा नयाँ मिडफिल्डर भित्र्याउन चाहेका छन् । जसमा स्पेनिस रियल मड्रिडका इस्को र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा पिर्लोको मुख्य योजनाका खेलाडी हुन् !

पोग्बा युभेन्टसकै पूर्वेखेलाडी हुन् भने इस्को रियलमा पछिल्लो समय प्रमुख रोजाइमा पर्न संघर्ष गरिरहेका तर शानदार प्ले मेकर खेलाडी हुन् । यी दुईको अनुबन्धपछि युभेन्टसको मिडफिल्ड थप क्रिएटिभ र आक्रामक बन्ने अपेक्षा गरिएको छ ।

रिपोर्टअनुसार युभेन्टसले आफ्ना फरवार्ड डग्लस कोस्टा युनाइटेडलाई दिएर केही रकम थप गरी पोग्बा भित्र्याउन प्रयास गरिरहेको छ । यता, इस्कोलाई सकेसम्म नगदमै नत्र उचित खेलाडी लिएर भित्र्याउने युभेन्टसको प्रयास छ । विभिन्न रिपोर्टअनुसार युभेन्टसले इस्को ल्याउन डिबाला दिन सक्ने चर्चा भए पनि टोलीको आक्रमण लाइनलाई समस्या पर्ने गरी डिबाला दिने निर्णय इटालियन टोलीका लागि जोखिमपूर्ण हुन सक्ने भएकाले उसले अन्य विकल्प अघि सार्नेछ ।

यदि पोग्बा र इस्को अनुबन्ध गर्न सके युभेन्टसको मिडफिल्ड युरोपकै उत्कृष्ट मिडफिल्ड बन्न सक्छ । किनभने, पोग्बा र इस्को मिडफिल्डका विश्वस्तरका शानदार खेलाडीमा गनिन्छन् । यता, युभेन्टसमा हाल आड्रेन राबिओट, रोड्रिगो बेन्टाकुर तीव्र गतिका मिडफिल्डर छन् भने बार्सिलोनाबाट युवा मिडफिल्डर अर्थुर मेलो पनि अनुबन्ध भइसकेका छन् । पिर्लोले नयाँ सिजनका लागि मिडफिल्डरमा अर्थुर, पोग्बा र इस्कोसहितका सेटको परिकल्पनाअनुसार योजना बनाइरहेका छन् ।

तर, महँगा खेलाडी भित्र्याउन ठूलो बजेट चाहिने हुँदा युभेन्टसले हाल टोलीमा रहेका बेन्टाकुर, राबिओट, आरोन राम्से, सामी खेडेरिया, जुआन काउडराडोमध्ये कम्तीमा ३ जना खेलाडी अझै बेच्नुपर्ने हुन्छ ।

यता, युभेन्टसले आक्रमण लाइनलाई थप मजबुत बनाउन गोन्जालो हिगुइनलाई बेचेर स्पेनिस क्लब एथ्लेटिको मड्रिडका अल्भारो मोराटा र इंग्लिस क्लब उल्भ्सका राउल जिमेन्जमध्ये एकलाई अनुबन्ध गर्न प्रयास गरिरहेको छ ।

प्रकाशित मिति १ भाद्र २०७७, सोमबार ०९:४७