प्रिमियर लिगका स्टार फरवार्ड भित्र्याउन युभेन्टसलाई रोनाल्डोको सुझाव

एजेन्सी, साउन ३२
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनका लागि प्रिमियर लिगका एक फरवार्ड भित्र्याउन क्लबलाई सुझाव दिएका छन् । इटालियन मिडियाका अनुसार रोनाल्डोले युभेन्टसलाई इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका स्टार फरवार्ड राउल जिमेन्जलाई अनुबन्ध गर्न सुझाव दिएका छन् ।

२९ वर्षका मेक्सिन फरवार्ड जिमेन्ज उल्भ्सका प्रमुख खेलाडी हुन् । आक्रमण लाइनमा ‘स्किलफुल’ र ‘क्रिएटिभ’ खेलाडी भएकाले युभेन्टसमा उनले राम्रो गर्न सक्ने रोनाल्डोले ठानेका छन् । हाल टोलीमा रहेका फरवार्ड गोन्जालो हिगुइनलाई क्लबले बेच्ने तयारी गरेकाले अहिले युवा फरवार्डको खोजी भइरहेको छ ।

रोनाल्डो क्लबले नयाँ सिजनअघि नै एकजना युवा फरवार्ड अनुबन्ध गरोस् भन्ने चाहन्छन् । रोनाल्डोले चाहेका अर्का फरवार्ड स्पेनिस एथ्लेटिको मड्रिडका अल्भारो मोराटा हुन् । रोनाल्डोले मोराटा र जिमेन्जमध्ये एक खेलाडी अनुबन्ध गर्न सुझाएका हुन् । त्यसैगरी, विभिन्न रिपोर्टअनुसार रोनाल्डोले रियल मड्रिडका स्टार प्ले मेकर इस्को र म्यानचेस्टर युनाइटेडका पाउल पोग्बालाई चाहेका छन् ।

प्रिमियर लिगमा जिमेन्जले यस सिजन उल्भ्सका लागि कूल ५३ खेलबाट २७ गोल गर्दै ७ गोलमा असिस्ट गरेका छन् । उनले युरोपा लिगमा मात्रै ३८ खेलबाट १७ गोल गरेर ६ असिस्ट गरेका छन् ।

प्रकाशित मिति ३२ श्रावण २०७७, आईतवार २०:५६
Loading...