च्याम्पियन्स लिग जित्न इटालीका प्रशिक्षकले युभेन्टसलाई दिए यस्ता तीन सुझाव

एजेन्सी, भदौ २१
इटालीको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक रावेर्टो मान्चिनीले क्लब युभेन्टसलाई च्याम्पियन्स लिग जित्न केही सुझाव दिएका छन् । इटालियन पत्रिका ‘डेल्लो स्पोर्ट्स’ सँग कुरा गर्दै उनले नयाँ सिजनमा युरोपियन उपाधि जित्न क्लबको बोर्ड केही महत्त्वपूर्ण निर्णय गर्नुपर्ने उनले बताएका छन् ।

मान्चिनीले आफू इटालियन भएकाले पनि आफूले इटालीको क्लबले च्याम्पियन्स लिग जित्नुपर्छ भन्ने चाहेको बताए । ‘म इटालियन हुँ । तसर्थ, यहाँका क्लबले च्याम्पियन्स लिग जितेको हेर्न म चाहन्छु,’ मान्चिनीले भनेका छन्, ‘हालको अवस्थामा युभेन्टसले यो काम गर्न सक्छ ।’

मान्चिनीका अनुसार नयाँ सिजनमा युभेन्टसले ठूला उपाधि जित्न सरुवा बजार बन्द नहुँदै केही काम गर्नुपर्छ र एक काम भने गर्नु हुँदैन । पहिलो– फितलो मिडफिल्डमा व्यापक सुधार । उनले बताएका छन् कि, युभेन्टसले ट्रिबेल उपाधिसहित च्याम्पियन्स लिग जित्न हालको मिडफिल्डमा व्यापक परिवर्तन गर्नुपर्छ । कमजोर मिडफिल्ड नै युभेन्टसको प्रमुख समस्या हो ।

‘सबैभन्दा पहिला क्लबले नयाँ सिजनका लागि हालको मिडफिल्डमा व्यापक परिवर्तन गर्नुपर्छ । केही खेलाडी बेच्नुपर्छ र केही खेलाडी भित्र्याउनुपर्छ । मेरो विचारमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र रियल मड्रिडका इस्को सबैभन्दा बेस्ट विकल्प हुनेछन् । यो सम्भव छ कि छैन, थाहा छैन । तर, यो भयो भने युभेन्टसको मिडफिल्ड युरोपकै मजबुत मिडफिल्ड बन्नेछ ।’

त्यसैगरी, मान्चिनीले युभेन्टसलाई नयाँ सिजनका लागि फरवार्ड लाइनमा एक जना युवा खेलाडी आवश्यक रहेको बताए । ‘अहिले टोलीमा क्रिस्टियानो र पाउलोजस्ता खेलाडी छन्, यो एकदमै राम्रो हो । तर, विकल्पमा भरपर्दा गोलकर्ता छैनन् । उनीहरूलाई नयाँ सिजनका लागि एक राम्रा युवा गोलकर्ता खेलाडी चाहिन्छ,’ मान्चिनीले भने, ‘मलाई लागछ, यसबारे बोर्डले सोचिरहेको छ । अहिले त्यहाँ वैकल्पिक फरवार्डको अभाव छ ।’

मान्चिनीले तेस्रो सुझावका रूपमा रोनाल्डो र डिबालाको साझेदारी हरहालतमा कायम राख्नुपर्ने बताए । यदि रोनाल्डो र डिबालामधये कोही एक टोलीमा नभए युभेन्टसको आक्रमणपंक्ति बेकामे हुने उनले बताए । ‘क्रिस्टियानो च्याम्पियन्स लिगका अनुभवी खेलाडी हुन् । उनी युभेन्टसलाई अतिआवश्यक छ । उनी हुँदा टिम उच्च मनोबलमा हुन्छ,’ मान्चिनीले भनेका छन्, ‘अहिले पाउलोले रोनाल्डोसँग मजबुत काम गरिरहेका छन् । यो साझेदारी टुटे युभेन्टसको फरवार्ड लाइन ठूलो समस्यामा पर्नेछ ।’

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार २०:४७
Loading...