पोर्चुगलले रोनाल्डोकै कप्तानीमा दोस्रो युरो कप जित्नेछ’

एजेन्सी, भदौ २०
सन् २०१६ मा फ्रान्समा भएको युरो कप पोर्चुगलले जित्दा क्रिस्टियानो रोनाल्डो नै टोलीका कप्तान थिए । उनकै प्रेरणादायी प्रदर्शनमा पोर्चुगल फाइनल पुग्यो । तर, आयोजक फ्रान्सविरुद्धको फाइनल खेलको सुरुआती समयमै रोनाल्डोले चोट बोकेपछि उनले स्ट्रेचरमा बसेर रुँदै मैदान छाडे । तर, सो खेल १२० मिनेटसम्म खेलेर पोर्चुगलले ठूलो संघर्षसहित फ्रान्सलाई उसैको भूमिमा १–० ले जित्दै पहिलोपटक युरो च्याम्पियन बन्यो ।

फाइनल खेलमा रोनाल्डोले पूर्ण समय नखेले पनि पोर्चुगलले त्यसबेला युरो कप जित्दाको सबैन्दा ठूलो जस रोनाल्डोलाई नै जान्छ । किनभने, समूह चरणदेखि टिमलाई फाइनलसम्म लैजान उनैले निर्णयक खेलहरूमा गोल गरेर टिमलाई लिड गरेका थिए । पोर्चुगलका लागि अन्तिम १६, अन्तिम आठ र सेमिफाइनलमा रोनाल्डोले नै निर्णायक गोल गरेका थिए । रोनाल्डोका लागि वर्ष २०१६ करिअरकै एक सुनौलो वर्ष रह्यो ।

बढ्दो उमेरबीच पनि उनै रोनाल्डो अर्को वर्ष हुने युरो कप खेल्ने तयारीमा छन् । यस वर्षका लागि तय भएको युरो कप कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि सरेको छ । युरो कप सरेर २०२१ हुने भए पनि नाम युरो कप–२०२० नै रहनेछ । अब अर्को वर्ष युरो कप हुँदा रोनाल्डो नै पोर्चुगलका कप्तान हुनेछन्, यसमा कुनै शंका छैन । तर, त्यसबेला उनको उमेर ३६ वर्ष भइसक्नेछ । उमेरका हिसाबले यो एक कठिन समय हुनेछ । किनभने, धेरैजसो खेलाडीले यस समयमा फुटबलबाटै सन्यास लिइसक्छन्, राष्ट्रिय टोलीको खेलाडी वा कप्तान भइराख्ने त परकै कुरा ।

अर्को वर्षको युरो कपको व्यग्र पर्खाइ भइरहँदा पोर्चुगलका अर्का स्टार खेलाडी बर्नान्डो सिल्भाले भने आफूहरूले अझै रोनाल्डोकै कप्तानीमा युरो कप जित्न चाहेको बताएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर सिल्भा पोर्चुगल अझै उपाधिको भोको रहेको र ठूला उपाधि जित्न तयार रहेको बताएका छन् ।

च्याम्पियन्स लिगमा क्वार्टरफाइनल खेलअघि एक पोर्चुगिज मिडियासँगको अन्तर्वार्तामा उनले राष्ट्रिय टिमको विषयमा पनि केही कुरा गरे । सो क्रममा उनले आफूजस्तै युवा खेलाडी अझै पनि रोनाल्डोकै नेतृत्वमा थप उपाधि जित्नेमा दृढ रहेको बताए । ‘पोर्चुगलको राष्ट्रिय टोलीसँग थुप्रै सपना छन् । हामी ती सपनाको हिस्सेदार हौं । राष्ट्रिय टिमको खेलाडी बन्न पाउनु हरेक खेलाडीका लागि गर्वको कुरा हो,’ सिल्भाले भनेका छन्, ‘हामीले २०१६ मा युरो कप जित्यौं । हाम्रो अबको लक्ष्य २०२० को पनि युरो कप जित्नु हो । हाम्रा लागि यो सपना र संकल्प दुवै हो । हामी सपना देख्न र पूरा गर्न मन पराउँछौं ।’

सिल्भाले पोर्चुगलको नयाँ पुस्ताका खेलाडी अझै रोनाल्डोकै कप्तानीमा थप उपाधि जित्न दृढ रहेको बताए । ‘यो मेरो मात्रै कुरा होइन । हामी राष्ट्रिय टोलीका हरेक युवा खेलाडीको सपना रोनाल्डोकै नेतृत्वमा थप उपाधि जित्नु हो । त्यो अर्को वर्ष हुने युरो कप हुन सक्छ । वा, २०२२ मा हुने विश्वकप हुन सक्छ । हामी त्यो समयको पर्खाइमा छौं ।’

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०६:३७
Loading...