युभेन्टसका नयाँ प्रशिक्षकका लागि इस्को ‘ड्रिम साइन’

एजेन्सी, साउन २८
इटालियन क्लब युभेन्टसका नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले स्पेनिस क्लब रियल मड्रिडका युवा प्ले मेकर इस्को अनुबन्ध गर्न गम्भीर चासो देखाएका छन् । क्लबका लिजेन्ड खेलाडी र आफ्नो समयका स्टार मिडफिल्डर पिर्लो नयाँ सिजनमा टोली सम्हाल्नुअघि सबै हिसाबले टोलीको पुनर्निर्माण गर्न जुटेका छन् । त्यसका लागि उनले टोलीको फितलो मिडफिल्ड सुधार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

इटालियन मिडियाका रिपोर्टअनुसार पिर्लोले नयाँ सिजनका लागि नयाँ ढंगले टोली बनाउन आफ्नो सक्रियता देखाइसकेका छन् । र, उनले नयाँ सिजनमा नचाहिने र चाहिने खेलाडीको सूची बनाएर बोर्डसँग छलफल गरिरहेका छन् । इटालीको चर्चित पत्रिका ‘टुट्टो स्पोर्ट्स’ले रियल मड्रिडका स्पेनिस मिडफिल्डर ‘इस्को पिर्लोका लागि ड्रिम साइन’ बनेको एक समाचार प्राशित गरेको छ ।

सो रिपोर्टअनुसार पिर्लोले इस्कोलाई युभेन्टसको फितलो मिडफिल्ड सुधार्न सबैभन्दा उचित खेलाडीका रूपमा हेरेका छन् । र, उनले इस्को अनुबन्धका लागि अप्ठेरा निर्णय गर्नुपरे पनि तयार देखिन्छन् । क्लबले पनि पिर्लोको योजनामा सहयाग गर्नेछ ।

युभेन्टसको प्रशिक्षक भएर मात्रै पिर्लोले इस्कोप्रति मोह देखाएका होइनन् । विगतबाटै उनले युभेन्टसलाई रियलबाट इस्को भित्र्याउन सुझाव दिँदै आएका थिए, त्यसबेला मासिमिलानो एलेग्री क्लबका प्रशिक्षक थिए । एक वर्षअघि उनले सार्वजनिक अन्तर्वार्तामा युभेन्टसलाई च्याम्पियन्स लिग जित्न इस्कोजस्ता मिडफिल्डर चाहिने बताएका थिए । उनले भनेका थिए–

‘युभेन्टसलाई च्याम्पियन्स लिग जित्न इस्कोजस्ता खेलाडी चाहिन्छ । मेरा विचारमा क्लबले उनलाई रियल मड्रिडबाट भित्र्याउन पहल गर्नुपर्छ । उनी यस्ता खेलाडी हुन्, जसले मिडफिल्डलाई सधैं क्रिएटिभ र चलायमान बनाइराख्न सक्छन् । फरवार्ड लाइनलाई बल सप्लाई गर्न उनी निकै सिपालु छन् ।’

आज उनै पिर्लो युभेन्टसका प्रशिक्षक पदमा आइपुगेका छन् । र, उनले आफूलाई खुबै मनपर्ने इस्को अब आफ्नै नेतृत्वमा भित्र्याउन सक्ने अवसर आएको छ । चर्चा यो छ कि, रियल मड्रिड पनि टोलीमा पहिलो रोजाइमा पर्न संघर्षरत इस्को र अर्का मिडफिल्डर टोनी क्रुसलाई युभेन्टस पठाएर सो क्लबबाट पाउलो डिबाला अनुबन्ध गर्न तयार छ ।

यदि यसैअनुसार डिल फाइनल बने युभेन्टसलाई बढी फाइदा हुनेछ । तर, यदि डिबाला गुमाएको खण्डमा भने युभेन्टसको फरवार्ड लाइनमा ठूलो समस्या उत्पन्न हुनेछ । त्यहाँ क्रिस्टियानो रोनाल्डोसँग मिल्ने अन्य फरवार्ड भित्र्याउनुपर्ने दबाब टोलीमाथि हुनेछ । यस सिजन युभेन्टसले तीन प्रतियोगिता हारेर घरेलु लिग मात्रै जिते पनि रोनाल्डो र डिबालाले सिजनभर फ्रन्ट लाइनमा जमेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति २८ श्रावण २०७७, बुधबार २१:५८
Loading...