युभेन्टसमा रोनाल्डोको भविष्यबारे उनका सहकर्मीको यस्तो दाबी

एजेन्सी, साउन २८
यो सिजन ठूला उपाधि र धेरै उपाधि जित्न नसकेपछि इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनअघि नै क्लब छाड्न सक्ने चर्चा सुरु भएको छ । अझै दुई सिजन रोनाल्डोको सम्झौता बाँकी भए पनि निराश बनेका रोनाल्डोले नयाँ निर्णय लिन सक्ने सम्भावना छ । यस सिजन युभेन्टस सुपर कप र कोपा इटालियाको फाइनलमा पराजित भयो च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भयो ।

व्यक्तिगत रूपमा यस सिजन उनले शानदार प्रदर्शन गर्दै क्लबका लागि कूल ३७ गोल गरे पनि टिमका रूपमा ठूला सफलता नपाएपछि ३५ वर्षका रोनाल्डोले नयाँ क्लब जान सक्ने कतिपयले अनुमान गरिरहेका छन् । तर, रोनाल्डो स्वयंले भने हालसम्म यसबारे केही पनि संकेत दिएका छैनन् ।

यसैक्रममा रोनाल्डोको राष्ट्रिय टिमका सहकर्मी ब्रुनो फर्नान्डेजले रोनाल्डो युभेन्टसबाटै च्यापियन्स लिग जित्न अझै दृढ रहेको र उनले क्लब छाड्छन् भन्ने आफूलाई नलागेको बताएका छन् । म्यानचेस्टर युनाइटेडका स्टार फर्नान्डेजले रोनाल्डो अहिले केही निराश बने पनि नयाँ सिजन झन् बलियो र बेस्ट बनेर आउने बताए । ‘मलाई लाग्दैन, क्रिस्टियानोले युभेन्टस छाड्नेछन् । उनी त्यहींबाट च्याम्पियन्स लिग जित्न चाहन्छन् । र, त्यसका उनी लागि दृढ छन्,’ फर्नान्डेजले भने, ‘मेरो विचारमा उनी कही पनि जाँदै छैनन् ।’

फर्नान्डेजले रोनाल्डो यो सिजनको समग्र सफलताबाट निराश रहे पनि नयाँ सिजन उनले टिमका लागि झन् ऊर्जा र सफलता लिएर आउने बताए । ‘उनीमाथि मलाई कहिल्यै शंका लाग्दैन । उनी निराशापछि फर्किंदा धेरै कुरा लिएर आउँछन् । मलाई आशा छ, नयाँ सिजन उनले टिमका लागि नयाँ ऊर्जा, सपना र खुसी लिएर आउनेछन्,’ फर्नान्डेजले भने ।

प्रकाशित मिति २८ श्रावण २०७७, बुधबार १७:०२
Loading...