च्याम्पियन्स लिग जित्न यी तीन भित्र्याउन क्लबलाई रोनाल्डोको सुझाव

एजेन्सी, भदौ १६
यस सिजन अपेक्षाअनुसार उपाधि जित्न नसकेपछि इटालियन क्लब युभेन्टस यतिबेला आलोचना झेलिरहेको छ । क्लब च्याम्पियन्स लिगको अन्तिम १६ बाट आउट हुनासाथ प्रशिक्षक सार्रीलाई बर्खास्त गरेर क्लबले नयाँ प्रशिक्षकमा आन्ड्रेय पिर्लोलाई नियुक्त गरिसकेको छ । र, क्लबका लिजेन्ड खेलाडीसमेत रहेका पिर्लोले नयाँ सिजनका लागि नयाँ ढंगले टोली निर्माण गर्न तयारी थालिसकेका छन् । पिर्लोले नयाँ सिजनको तयारीका लागि टोलीमा रहेका आधा दर्जनजति खेलाडी बेचेर केही युवा स्टार भित्र्याउन कसरत थालिसकेका छन् ।

यसैक्रममा टोलीका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनमा राम्रो प्रदर्शन गर्न टोलीलाई मजबुत बनाउन केही भरपर्दा खेलाडी भित्र्याउन क्लबलाई सुझाव दिएका छन् । इटालियन मिडियाका अनुसार रोनाल्डोले क्लबका खेल निर्देशक फाबियो पारासिटीसँग छलफल गरेर आफ्नो नजरमा रहेका केही खेलाडी ल्याउन सुझाव दिएका हुन् ।

रिपोर्टअनुसार रोनाल्डोले पूर्वक्लब रियल मड्रिडका सहकर्मी प्ले मेकर इस्कोलाई प्राथमिकतासाथ भित्र्याउन सुझाव दिएका छन् । विगतमा रियलमा रोनाल्डोले इस्कोसँग मिलेर शानदार साझेदारी गरेका थिए । त्यसैगरी, एथ्लेटिको मड्रिडका फरवार्ड अल्भारो मोराटालाई अनुबन्ध गर्न पनि रोनाल्डोले सुझाएका छन् ।

यता, रोनाल्डोले टोलीको फितलो मिडफिल्ड सुधार्न केही ठूला निर्णय लिनुपर्ने बताएका छन् । त्यसका लागि हाल टोलीमा रहेका केही मिडफिल्डरलाई बेचेर नयाँ खेलाडी ल्याउन सुझाव दिएका हुन् । रोनाल्डोको रोजाइमा रियलका इस्को र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा रहेका छन् । युभेन्टसका पूर्वखेलाडीसमेत फ्रेन्च स्टार पोग्बा अनुबन्ध गर्न सके युभेन्टस नयाँ सिजनमा मजबुत टोली बन्ने रोनाल्डोको बुझाइ छ ।

यदि यसैअनुसार सबै कुरा हुन सके नयाँ सिजन युभेन्टसको मिडफिल्डमा अर्थुर मेलो, इस्को र पोग्बाजस्ता प्रभावशाली खेलाडी हुनेछन् । हाल टोलीमा रहेका राबिओट, रोड्रिगो बेन्टाकुर, आरोन राम्से, समी खडेरिया मध्येबाट २ जना खेलाडी बेच्ने तयारी गरेको छ । नयाँ सिजनमा राबिओट र बेन्टाकुर मात्रै रहने सम्भावना छ ।

यता, यदि पाउलो डिबालाले रियल मड्रिड जान क्बल नछाडे फरवार्ड लाइनमा रोनाल्डोसँगै मोराटा, पाउलो डिबाला, फेडरिको बर्नान्डेचीसहितका खेलाडी हुने सम्भावना छ । हाल टोलीमा रहेका डग्लस कोस्टालाई बेच्ने सम्भावना छ ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ११:१२
Loading...