इस्को र क्रुस युभेन्टस जाने सम्भावना बढेपछि रियलले ओडेगार्डलाई फिर्ता बोलाउँदै

एजेन्सी, साउन २७
स्पेनिस क्लब रियल मड्रिडले लोनमा ला लिगा टोली रियल सोसिडाड गएका आफ्ना युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई फिर्ता बोलाउने भएको छ । रियल मड्रिड निकट पत्रिका ‘मार्सा’का अनुसार रियलले नयाँ सिजन २०२०–२१ का लागि लोनमा गएका आफ्ना युवा स्टारलाई टोलीमा फिता बोलाउने भएको हो ।

एक वर्षअघि दुईवर्षे लोन सम्झौतामा सोसिडाड पुगेका नर्वेजियन खेलाडीले सोसिडाडमा शानदार प्रदर्शन गरिरहेका छन् । सोसिडाड रियल मड्रिडलाई नै हराउँदै कोपा डेल रे फुटबलको फाइनल पुगिसकेको छ । सोक्रममा ओडेगार्डले टोलीलाई महत्त्वपूर्ण योगदान दिएका थिए । रियलको सिनियर टोलीमा बढी समय नपाउने भएपछि रियलले उनको खेल विकासका लागि लोनमा भए पनि सोसिडाड पठाएको थियो ।

रियलले नयाँ सिजनमा आफ्नो टोलीका २ जना प्रमुख मिडफिल्डर इस्को र टोनी क्रुसलाई इटालियन युभेन्टसलाई दिएर सो क्लबबाट पाउलो डिबाला भित्र्याउने तयारी गरेपछि प्रशिक्षक जिनेदिन जिदानले सोसिडाडबाट ओडडेगार्डलाई फिर्ता बोलाउने भएका हुन् । २१ वर्षका युवा प्ले मेकर ओडेगार्ड टोलीमा फर्किएपछि रियलको मिडफिल्डमा लामो समयसम्मका लागि ढुक्क हुने रियलले ठानेको छ ।

लोनमा सोसिडाड जानुअघि आडेगार्डले लुका मोड्रिडसँग समय बाँडेर खेल्दै थिए । तर, धेरै समय नपाएपछि उनी लोनमा बाहिर गएका थिए । यदि यसै समरमा क्रुस र इस्को स्पेनबाट बाहिरिए जिदानले नयाँ सिजनमा अनुभवी मोड्रिक र कासेमिरोको साथमा युवा स्टार फेडे भाल्भर्डे र ओेडेगार्डसहितको विष्फोटक मिडफिल्ड बनाउनेछन् ।

प्रकाशित मिति २७ श्रावण २०७७, मंगलवार २१:३७
Loading...