स्पेन र पोर्चुगलले मैत्रीपूर्ण खेल खेल्ने घोषणा

काठमाडौं, साउन २७
युरोपियन फुटबलका दुई बलिया देश पोर्चुगल र स्पेनले मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । युइएफए नेसन्स लिगमा समूह चरणका खेल सुरु भएपछि बीचमास्पेनले सन् २०१६ को युरो च्याम्पियन पोर्चुगलसँग मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको हो । स्पेनले आगामी अक्टोबर ७ तारिखमा पोर्चुगलसँग उसैको भूमिमा सो खेल खेल्ने घोषणा स्पेनिस फुटबल संघले गरेको छ ।

नेसन्स लिगका खेल चलिरहँदा यो मैत्रीपूर्ण खेल हुनेछ । पोर्चुगल र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा परिचित टोली हुन् । उनीहरूले पछिल्लोपटक सन् २०१८ मा रसियामा भएको विश्वकप फुटबलको समूह चरणमा भिडेका थिए । निकै चर्चित सो खेल ३–३ को बराबरीमा सकिएको थियो ।

नेसन्स लिगमा स्पेनले पोर्चुगलसँग खेल्नुअघि सेप्टेम्बर ३ तारिखमा जर्मनीसँग खेल्नेछ भने सेप्टेम्बर ६ तारिखमा युक्रेनसँग खेल्नेछ । त्यसपछि उसले पोर्चुगलसँग अक्टोबर ७ तारिखमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि अक्टाबेर १० मा स्वीट्जरल्यान्ड र अक्टोबर १४ मा युक्रेनसँग खेल्नेछ ।

यता, पोर्चुगलले नेसन्स लिगमा आफ्नो पहिलो खेल सेप्टेम्बर ५ तारिखमा क्रोएसियासँग खेल्नेछ भने दोस्रो खेल सेप्टेम्बर ८ तारिखमा स्वीडेनसँग खेल्नेछ । त्यसपछि उसले स्पेनसँग मैत्रीपूर्ण खेल खेलेपछि पुनः नेसन्स लिगमा अक्टोबर ११ मा फ्रान्स र अक्टोबर १४ मा स्वीडेनसँग खेल्ने तालिका छ ।

मैत्रीपूर्ण हुने भए पनि पोर्चुगल र स्पेनबीच हुने यस खेललाई महत्त्वसाथ हेरिएको छ । रसियामा रोमाञ्चक ३–३ को बराबरी खेल्दा पोर्चुगलका कप्तान रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक गोल गरेका थिए ।

प्रकाशित मिति २७ श्रावण २०७७, मंगलवार ०९:४५
Loading...