फ्यानका नाममा पत्र लेख्दै रोनाल्डोले भने– ‘हामी झन् बलियो भएर आउनेछौं र जित्नेछौं’

एजेन्सी, साउन २६
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएपछि इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले समर्थकहरूका नाममा एक पत्र लेख्दै कठिन घडीमा सम्हालिन र नयाँ संकल्पका साथ अघि बढ्न अनुरोध गरेका छन् । आफूहरूको सिजन सोचेभन्दा चाँडै सकिएको उल्लेख गर्दै रोनाल्डो यो सिजनको समग्र नतिजाबाट आफू, टिम र फ्यानहरू पनि खुसी हुन नसक्ने कुरा उल्लेख गरेका छन् ।

सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् एक तस्बिरसहित लामो पत्र लेख्दै पोर्चुगिज रोनाल्डोले आफ्ना फ्यानहरूले आफूहरूले भन्दा धेरै कुरा आशा राख्ने बताउँदै ती कुरा दिन आफूहरूले सक्नुपर्ने बताएका छन् । उनले युभेन्टस विश्वका ठूलामध्येको एक टिम रहेको उल्लेख गर्दै ठूला उपाधिका लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि बताएका छन् । रोनाल्डोले लेखेका सन्देशमा छन्–

‘अब हाम्रा लागि सिजन २०१९–२० सकिएको छ । यो हामीले सोचेभन्दा धेरै चाँडो भयो । अबको समय उत्तारचढावको समीक्षा गर्ने र नयाँ संकल्प गर्ने हो । किनभने, आत्मआलोचना नै सुधारको एक मात्रै मार्ग हो ।

‘युभेन्टसजस्तो एक ठूलो क्लबले सधैं विश्वकै उत्कृष्ट बन्न प्रयास गर्नुपर्छ र सोच्नुपर्छ । विश्वकै उत्कृष्ट काम गर्नुपर्छ । त्यसो भए मात्रै हामी आफैंलाई विश्वकै एक ठूलो क्लब र आफैंलाई उत्कृष्ट भन्ने हक राख्छौं ।’

‘हाम्रोजस्तो ठूलो क्लबबाट फ्यानले धेरै कुराको माग गर्छन् । हामीले प्राप्त गरिरहेको भन्दा अझै धेरै कुराको अपेक्षा राख्छन् । र, हामीले ती कुरा दिनैपर्छ । हामीले सधैं उच्च अपेक्षाको बिन्दु प्राप्त नगर्दासम्म संघर्ष गर्नुपर्छ ।’

‘अब यो छोटो बिदाले हामी सबैलाई भविष्यका लागि एक उत्कृष्ट निर्णय गर्न मौका दिएको छ । नयाँ सिजनमा झन् बलियो र थप एकताबद्ध रूपमा आउनेछौं । र, जित्न नसकेका कुरा जित्नेछौं ।’

‘चाँडै भेटौंला ।’

प्रकाशित मिति २६ श्रावण २०७७, सोमबार १३:४८
Loading...